बाँकेमा बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती घाईते

माघ १६, नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् ।

स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपरान्ह पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।

जलेर गम्भीर घाइते भएका दुई वर्षीय बालक प्रिन्सको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए । भानुभक्तलाई भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको पनि उनले बताए।

भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्ने गरेको स्थानीय बताउँछन् । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । त्यसपछि गंगा आमाजूको घरमा गएर बसेको बताइएको छ । साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिँडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए ।

बालक को कम्मर भन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।

घटनाबारे जानकारी पाए लगत्तै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी र वडा अध्यक्ष हरि कठायतले उनीहरूलाई सुरुमा नेपालगन्ज मेडिकल कलेज पुर्‍याएका थिए । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको थियो । (रेडियो नेपाल)

Translate »