प्रशासनको लापरबाही : तीन व्यक्तिको नागरिकता नम्बर एउटै

डडेलधुरा । जिल्ला प्रशासन कार्यालय डडेलधुराबाट एकै नम्बरका तीन वटा नागरिकता प्रमाणपत्र जारी गरेको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेलधुराले फरक–फरक मितिमा ७४१००८/२७३ नम्बरका नागरिकता प्रमाणपत्रहरू छुट्टाछुट्टै व्यक्तिका नाममा जारी गरेको फेला परेको हो ।

गरिकता प्रमाणपत्रको प्रतिलिपिअनुसार रमेशबहादुर माली, हिक्मतबहादुर माली र दानबहादुर भुलको नाममा ७४१००८/२७३ नम्बरका नागरिकता प्रमाणपत्रहरू फरक–फरक मितिमा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेलधुराले २०६६ असार २९ गते सबैभन्दा पहिले साबिक गणेशपुर गाविस–२ का रमेशबहादुर मालीको नाममा उक्त नम्बरमा नागरिकता प्रमाणपत्र जारी गरेको देखिन्छ । ती नागरिकता प्रमाणपत्र जारी गर्दा डडेलधुरामा परशुराम अर्याल प्रमुख जिल्ला अधिकारी थिए ।

जिल्ला प्रशासन कार्यालयले त्यही नम्बरमा २०६७ मा रमेशकै नातामा भतिजा पर्ने हिक्मतबहादुर मालीको नाममा जारी गरेको पाइएको छ । हिक्मतको नागरिकता प्रमाणपत्रको प्रतिलिपिमा जारी मितिमा महिना प्रस्ट नदेखिए पनि वैशाखदेखि पुसमध्ये कुनै एकमा जारी भएको देखिन्छ । उक्त नागरिकता प्रमाणपत्र जारी गर्दा डडेलधुरामा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने थिए ।

जिल्ला प्रशासन कार्यालयले २०६७ चैत्र १५ गते साबिक कैलपालमाण्डौं गाविस–४ का दानबहादुर भुलको नाममा त्यही नम्बरको नागरिकता प्रमाणपत्र तेस्रो पटक जारी गरेको छ । उक्त नागरिकता प्रमाणपत्र जारी हुँदा पनि डडेलधुराका प्रमुख जिल्ला अधिकारी लामिछाने नै थिए ।

Translate »