संघीयता खारेज गर्न जनमोर्चाको माग

माघ १७, सुर्खेत । संघीयता खारेज गर्न माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी नेतृत्वको एक प्रतिनिधि मण्डलले मंगलबार प्रमुख अधिकारी नारायणप्रसाद सापकोटा मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

जनमोर्चाले संघीयताको खारेजी, भ्रष्टचारको अन्त्य, विकृति र दण्डहीनताको अन्त्य, विकास निर्माण, सामाजिक न्याय, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने, भारतले कब्जा गरेको जमिन फिर्ता गर्न सरकारले तत्काल पहल गर्नुपर्ने लगायतको माग राखेको छ । केन्द्रदेखि स्थानीयतहसम्म भ्रष्ट्राचार संस्थागत भएकाले कुनै निकाय भ्रष्ट्राचारबाट मुक्त हुन नसकेको जनमोर्चाको ठहर छ ।

‘जनताले घुस नदिई जनताको काम नहुने परिपाटी रहेकाले भ्रष्ट्राचार नियन्त्रण गर्ने निकायका पदाधिकारी स्वंय भ्रष्ट्राचारी भएको पाईएको छ,’ अध्यक्ष सुवेदीले भने, ‘ भ्रष्ट्राचार व्याप्त र संस्थागत हुनमा राजनीतिक नेतृत्व जिम्वेवार भएकै कारणले आर्थिक क्षेत्रमा मात्र होइन, उद्योग, व्यापार, स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रमा व्याप्त छ ।’ उनले सत्तामा रहेको राजनीतिक नेतृत्व भ्रष्ट्राचार विरुद्ध इमान्दार बनेपछि मात्र भ्रष्ट्राचार अन्त्य हुने बताए ।

उनका अनुसार संघीयताको घाडो, भ्रष्ट्राचारको विकास, सामाजिक विकृतिले देशमा विकास निमार्ण हुन दिँदैन । नयाँ संविधान, कानून र जनादेश प्राप्त सरकारले विकास निमार्णका योजना वा दृष्टिकोण अघि सार्न नसकेको उनको ठहर थियो ।

 

Translate »