स्वयंसेवकलाई अस्थायी आवास बनाउने तालिम
माघ १७, सुर्खेत । वीरेन्द्रनगरमा मंगलबार स्वयंसेवकसँगै केही रेडक्रसकर्मीहरु धमाधम बाँस चिर्दै थिए । विभिन्न औजारको मद्दत लिएर उनीहरु झण्डै दुई घण्टा खटे । त्यसपछि उनीहरुले मान्छे बस्न मिल्ने घर तयार गरे । त्यहाँ कुनै विपद् भएर उनीहरुले अस्थायी आवास निर्माण गरेका भने होइनन् । नगरपालिकाका १६ वटै वडाका स्वयंसेवकसँगै रेडक्रसकर्मीलाई विपदको समयमा आपतकालिन अस्थायी आवास निर्माणको बारेमा सिकाइएको हो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक टोलीले आपतकालीन आवास निर्माणको बारेमा तालिम दिएको हो ।
नगरपालिकाका १६ वटै वडाका २४ जना स्वयंसेवकले तालिम लिएका छन् । नेपाल रेडक्रस सोसाइटी सुर्खेतले उत्थानशील नगरका लागि सामुहिक पहल कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरमा विपद् व्यवस्थापन तथा उद्दारका लागि तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्नु मुख्य उद्देश्य रहेको बताएको छ । रेडक्रसले विभिन्न संघ संस्थाको सहयोगमा वीरेन्द्रनगरका १६ वटै वडाका स्वयसेवकलाई तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पहिलो चरणको ३ दिने आपतकालीन आवास व्यवस्थापन प्रशिक्षण तालिम बुधबार सम्पन्न गरेको हो ।
तालिम समापन कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यले विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालन गरिएको अस्थायी आवास निर्माण तालिमले स्वयंसेवकको क्षमता विकास भई भविष्यमा हुनसक्ने विपद्को सामना गर्न दक्ष जनशक्ति उत्पादन भएको बताए । उनले तालिम प्राप्त जनशक्तिले आवश्यकता परेको बेला परिचालन हुने र अरुलाई समेत सीप सिकाउन सक्ने क्षमता भएकाले रेडक्रसका लागि खम्बा भएको जिकिर गरे ।
‘स्वयंसेवकले आपतकालीन अस्थायी आवास बनाउन जानी राख्दा विपद परेको बेलामा राज्यलाई मद्दत गर्न सक्छ,’ उनले भने, ‘४ देखि ६ वटा बाँस प्रयोग गरे निर्माण गर्न सकिने अस्थायी आवास निर्माण तालिम तीन दिनको प्याकेज थियो ।’ उनका अनुसार तालिम लिएर दक्ष भइसकेपछि एउटा टोलीले एक घण्टामा यस्तो आवास निर्माण गर्न सक्छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदीले विपद् व्यवस्थापन तथा उद्दारमा तालिम प्राप्त जनशक्तिको विशेष महत्व रहने भएकाले आगामी दिनहरुमा थप माथिल्लो स्तरका तालिमका लागि प्रयास गरिने जनाए । उनले स्थानीय परिवेश अनुसार प्रभावितहरुको सहभागितामा तालिम प्राप्त स्वयंसेवकले घर निर्माण गर्नुका साथै सिपलाई तथा क्षमता विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । तालिममा आपतकालीन आवास निर्माणको आधारभूत आवश्यकता, निर्माण गर्ने विधिको सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइएको थियो ।