सांसद अरुणकुमार चौधरी कारागार चलान

माघ २०, धनगढी । आगजनी मुद्दामा कैद सजाएको फैसला पाएका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ । अदालतको आदेशमा कैदी पुर्जी बुझेर सांसद चौधरी जिल्ला कारागारमा चलान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई प्रहरीले आज जिल्ला अदालतमा उपस्थिति गराएको थियो । फरार सुचीमा रहेका सांसद चौधरीलाई बिहीबार दिउसो प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो ।

प्रहरीले चौधरीलाई जहाजमार्फत काठमाडौँ हुँदै बिहीबार साँझ धनगढी ल्याएको थियो । जिल्ला अदालत कैलालीले २०७० साल वैशाख ९ गते ट्याक्टर आगजनी मुद्दामा दोषी ठहर गर्दै सांसद चौधरीसहित तीन जनालाई ६ महिना कैद सजाए र ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो (क्षतिपूर्ति) भराउन आदेश दिएको थियो । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी नागरिक उन्मुक्ति पार्टी नेता हुन् ।

Translate »