बलि दिन भारत पुर्याइएकी बालिकाको उद्दार
माघ २०, काठमाडौं । बलि दिन भारत पुर्याइएकी १६ वर्षीया नेपाली बालिकाको उद्दार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलवार बालिकाको उद्दार गरिएको हो । उद्दारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।
ब्यूरोले यहाँ आज पत्रकार सम्मेलन गरी बालिकाको उद्दारबारे जानकारी दिएको हो । ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भएरनभएको परीक्षण गरिएको रहेछ,’ ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।
उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । ६० केजी तौल भएको, कम्तीमा पाँच फिट चार इञ्चभन्दा माथि उचाइ भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरूले जानकारी दिएको प्रहरीको भनाइ छ ।
उनले थपे, ‘प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ । उनीहरूको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ ।’
निर्देशक श्रेष्ठले बालिका भने यसबारे जानकार नभएको बताए । उनले भने, ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौं । दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो ।’
प्रहरीका अनुसार पीडित बालिकालाई मङ्सिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ सम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पु¥याइएको प्रहरीको भनाइ छ ।
भारत पुर्याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन् । ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ ।
अहिले प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघमा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्दार गरिएको छ ।
पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार हुनबाट उद्दार गरिएको प्रहरीको भनाइ छ । बेचबिखन तथा ओसारपसार हुनबाट बालिका, महिला, बालक र पुरुष गरी ४४३ जनाको उद्दार गरिएको छ । रासस