मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिए


माघ २०, काठमाडौं । मधेश प्रदेश सरकारको मन्त्रीमण्डल विस्तार गरी नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गराए । शिक्षा विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादव, सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंह, खानेपानी तथा ऊर्जा विकास मन्त्री सिंहासन साह कलवार, कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री राजकुमार लेखी र महिला, बालबालिका, युवा तथा खेलकूदमन्त्री मोहम्मद जयद आलमले सपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री यादवले तीन जना नवनियुक्त राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सामाजिक विकास राज्यमन्त्री शेख अबुल कलाम अजाद, गृह तथा सञ्चार राज्यमन्त्री केशव राय तथा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री सञ्जय कुमार यादवले सपथ ग्रहण गरका हुन् ।

पहिलो चरमा नेकपा एमालेका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सरोज कुमार यादव, जनता समाजवादी पार्टीका अर्थमन्त्रीमा सञ्जय कुमार यादव र जनमत पार्टीका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा वसन्त कुशवाहाले पदभार ग्रहण गरिसकेका छन् ।

