भारत पुर्‍याइएका १२ महिलाको उद्दार

काठमाडौं ।  वैदेशिक रोजगारीको प्रलोभनमा भारत पुर्‍याइएका १२ जना महिलाको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरो उद्दार गरेको छ ।

व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुर्‍याई दुवई हुँदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलालाई उद्दार गरिएको जानकारी दिएको हो ।

ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार दुबई हुँदै भिजिट भिसामा इथोपियामा वैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा उनीहरुलाई राखिएको थियो ।  ब्युरोको पहलमा भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी, सामाजिक संस्था (हेल्प क्रस इन्डिया) र नेपालस्थित शान्ति पुनः स्थापना गृहको सहकार्यमा उनीहरूको उद्धार भएको हो ।

उनका अनुसार उद्दार गरिएका महिलाहरूमध्ये २०–३० वर्ष उमेर समूहका २ जना, ३१–४० वर्ष समूहका ८ र ४१ वर्षमाथिका २ जना रहेका  छन् । कतिपय यसअघि वैदेशिक रोजगारमा गएर फर्किएका महिला छन् । नेपालबाट भारत लैजाने क्रममा जोगवनी, काँकडभिट्टा, जमुनाहा, सुनौलीलगायत नाका प्रयोग हुने गरेका छन् । ब्युरोको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा बेचबिखन तथा ओसारपसार भएका दुई सय १४ महिलाको उद्दार गरिएको छ ।

मानव बेचविखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुनेसक्ने भन्दै उनीहरूको पहिचान गरि खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताए । त्यस्तै, व्युरोले नेपालबाट हराइकी एक बालिकाको पनि भारतबाट उद्दार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रीकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्दार गरिएको व्युरोका निर्देशक श्रेष्ठले जानकारी दिए । मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगञ्ज नयाँदिल्ली पुराउने ६ जनाको गिरोहलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

Translate »