कर्णालीमा ट्राफिक हटलाईन १०३ शुरु
स्काई न्यूज/ माघ २१, सुर्खेत । कर्णाली प्रदेश भरी सुरक्षित आवागमन एवं ट्राफिक व्यवस्थापनका लागि (हटलाईन) टोल फ्रि नम्वर १०३ सञ्चालनमा ल्याईएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले ट्राफिक गतिविधि तथा जानकारी लिन, दिनका लागि शुक्रबारदेखि टोल फ्रि नम्वर १०३ सञ्चालनमा ल्याएको हो । १०३ नम्वरमा फोन गरेर कर्णाली प्रदेशका दश वटै जिल्लाबाट ट्राफिक गतिविधि तथा जानकारी लिन सकिने छ ।
अब प्रदेशभरी ट्राफिक सूचना, सडक अवरोध, ट्राफिक जाम, वैकल्पिक रुट प्रयोग लगायतका ट्राफिक अपडेटको जानकारी लिन र दिन टोल फ्रि १०३ नम्वरमा जतिबेला पनि फोन डायल गर्न सकिने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख (प्रहरी उपरीक्षक) प्रज्वल महर्जनले जानकारी दिए । उनले सडक तथा राजमार्गहरुमा भएका तत्कालिन घटना, दुर्घटना, यात्रुका समस्या जस्ता सूचना लिन र दिन हटलाइनका रुपमा १०३ नम्वर सञ्चालनमा ल्याईएको जनाए ।
उनका अनुसार सुरक्षित आवागमन एवं ट्राफिक व्यवस्थापनका लागि प्रयोगमा ल्याईएको टोल फ्रि १०३ नम्वर चौविसै घण्टा उपलब्ध हुनेछ । ट्राफिकले पैसा नलाग्ने यो टोल फ्रि नम्वरमा अनावश्यक र लामो कुराकानी नगर्न सुझाव दिएको छ । अनावश्यक कल तथा लामो कुराकानीले हटलाईन व्यस्त बनाईएमा महत्वपूर्ण सूचना सही समयमा आवश्यक व्यक्तिले पाउन नसक्ने हुँदा टोल फ्रि नम्वरको महत्व बुझ्न आग्रह गरिएको छ ।