आज एक महिने ‘श्री स्वस्थानी ब्रत’ समापन गरिंदै

काठमाडौं ।  पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आज माघ शुक्ल पूर्णिमा । आजभन्दा एक महिना अघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो ।

विशेष गरी हिन्दू महिलाहरूले एक महिनासम्म मनाउने श्री स्वस्थानी व्रत कथा आजबाट समाप्त हुँदैछ । श्री स्वस्थानी व्रतकथामा विशेष गरी श्री स्वस्थानी देवीको पूजा र आराधना गरिन्छ । शिवजी तथा अन्य देवदेवीको पनि आराधना गरिन्छ ।

आज देशका विभिन्न जलाशययुक्त स्थानमा श्रद्धालु भक्तजनहरूको भीड हुन्छ । हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् । रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्‌को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्छन् ।

 

Translate »