आज प्रेस चौतारी स्थापना दिवस

माघ २२, सुर्खेत ।  श्रमजीवि पत्रकारहरुको साझा संस्था प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस आज देशभर मनाइँदैछ ।

चौतारी सुर्खेतका अध्यक्ष गोविन्द खत्रीको नेतृत्वमा आज सदरमुकाम वीरेन्द्रनगरको मंगलगढी चोकबाट विहान ७ बजे प्रभात ¥यालीले बजार परिक्रम पछि पिपल चौतारामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा शुभकामना कार्यक्रमसहित अन्य विभिन्न कार्यक्रम राखिएको चौतारी सुर्खेतले बताएको छ ।

‘स्थापना दिवसकै अवर पारेर चौतारी सुर्खेतले ‘पत्रकारिता पुरस्कार’ कोष स्थापना शुभारम्भ गर्दैछ,’ अध्यक्ष खत्रीले भने, ‘अर्को वर्षदेखि जिल्लाका एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ । योजना धेरै छन्, पत्रकारको हितमा काम गर्दै सामाजिक तथा सृजनात्मक काम चौतारीको प्राथमिकतामा रहन्छ ।’

जनताका मुद्दा उठाउँदै व्यवसायिक धर्म निर्वाह गर्न चौतारीका सदस्यहरु प्रतिबद्ध रहेको भन्दै उनले श्रमजीवी पत्रकारका पक्षमा संघर्षसँगै आगामी दिनमा विधि विधानमा टेकेर संस्थाको हितमा समयानूकुल काम गर्दै जानेमा सुर्खेत शाखा दृढ रहेको बताए । ‘२५ औं स्थापना दिवसले हामीलाई त्यही कुराको प्रेरणा दिन्छ,’ उनले भने ।

Translate »