सरकार छोड्ने रास्वपाको निर्णय:पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन : लामिछाने

माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट फिर्ता हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेको नागरिकता र पासपोर्ट विवाद चर्किएपछि सरकारनै डगमगाएको मात्रै छैन सत्ता समिकरण बद्लिने भएको छ ।
उक्त पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।
लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको भन्दै आफ्नो बचाउ गरेका छन् ।
आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको बताएका छन् ।

‘नेपालमा बस्नेका लागि के के चाहिन्छ त्यो लिएको हुँ, त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरेको छैन, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरेको हो’ उनले भने ।
१२–१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए । तर स्थायी रुपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् । आर्थिक अभियान