टेलिकमको वार्षिकोत्सवमै कार्यसम्पादनप्रति ट्रेड युनियनकर्मीको असन्तुष्टी

६ महिनामा ५० हजार बढी सीमकार्ड विक्री

स्काई न्यूज /माघ २२, सुर्खेत । नेपाल दूरसञ्चार कम्पनीको वार्षिकोत्सवमै कार्यसम्पादनप्रति ट्रेड युनियनकर्मीले असन्तुष्टी व्यक्त गरेका छन् । नेपाल टेलिकमको आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको १९ औं वार्षिकोत्सवका अवसरमा बोल्ने अधिकांस ट्रेड युनियनकर्मीहरुले टेलिकमको कार्यसम्पादन माथि प्रश्न मात्र उठाएनन्, उनीहरुले आलोचना समेत गरेका हुन् ।

टेलिकममा धेरै काम गर्नुपर्ने छ । तर, किन ढिलो भएको छ ? यसका पछाडि धेरै कारण होलान् । तत्काल आफ्नै स्तरबाट गर्न सकिने काममा समेत ढिलाई हुँदा उपभोक्तामा प्रतिकुल असर पुगेको उनीहरुको ठहर थियो । सहज सेवा पाइएन भनेर सेवाग्राहीबाट गुनासो आउने गरेको छ । यो राम्रो भएन, अब सुध्रिनु पर्छ । समस्या समाधानमा सकारात्मक बनौं,’ राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष युवराज पौडेलले भने । उनले उल्लासको समयमा पनि आलोचना गर्नु राम्रो नभएको तर भन्नै पर्ने अवस्था भएको बताए । उल्लासको दिनमा पनि आलोचना गर्नै पर्ने भयो, सुध्रिनुस्,’ उनले भने ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका कर्णाली प्रादेशिक अध्यक्ष प्रेमकुमार गिरीले गुणस्तरीय सेवा प्रवाहमा आफ्नो कमजोरी लुकाउने प्रयासमा टेलिकम सार्वजनिकरुपमै आलोचित हुने गरेको प्रति दुःख व्यक्त गरे । कर्णालीमा सञ्चालित टेलिकमका परियोजना निर्माणमा भईरहेको ढिलाइप्रति असन्तुष्टी व्यक्त गर्दै उनले छिटो सम्पन्न गर्न तर्फ जोड दिए ।

नेपाल टेलिकम वकर्स यूनियन कर्णाली प्रादेशिक अध्यक्ष अजित कार्कीले पनि टेलिकमको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरे । उनले धेरै कामहरु आपसी छलफल तथा वार्ताबाट छिटो छरितो गर्न सकिने अवस्था हुँदाहुँदै व्यवस्थापन पक्षले वेवास्ता गरे झै गर्दा कर्मचारीमा समेत असन्तुष्टी बढेको बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डाक्टर गोपीकृष्ण खनालले सरकारको स्वामित्वमा रहेको संस्थाले कर्णाली जस्तो दुर्गममा टेलिकमको सेवालाई प्रभावकारी बनाउन कमी कमजोरीमा सुधार गर्दै अगाडी बढ्न आवश्यक रहेको औल्याए । ‘राष्ट्रलाई एकताको सुत्रमा जोड्न टेलिकमले महत्वपूर्ण भूमिका खेलेको छ । आफ्नो दायित्व पुरा गर्दै सेवालाई निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउन तर्फ जुट्नुहोस्,’ उनले भने, ‘प्रविधिको विकास, उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाईनु पर्छ ।’

उनले सरकारको सोच र लक्ष्यलाई पुरा गर्ने गरी टेलिकमले कर्णालीको भूगोललाई समेत आत्मसात गरि आफ्नो नेटवर्क विस्तारमा तीव्रतासँगै गुणस्तरियतामा ध्यान दिन सुझाव दिए । कर्णालीमा टेलिकमको विस्तार तथा सुधारका लागि चाहिने आवश्यक सहयोग तथा सहकार्य जतिबेला पनि प्रदेश सरकार दिन तयार रहेको उनको भनाइ थियो ।

नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशक मिलन श्रेष्ठले कर्णाली प्रदेशमा पछिल्लो ६ महिनामा ५० हजार बढी सीमकार्ड विक्री भएको बताए । उनले आईपीटिभी, लिजलाईन, एफटीटीएच १ हजार २ सय ५९ विक्री गरिएको जनाए । हाल २ सय ४१ वटा बीटीएस टावर रहेकोमा चालु आर्थिक वर्षभित्रै थप ९१ वटा नयाँ टावर थपेर कर्णालीका सबै वडा–वडामा फोरजी सेवा सञ्चालनमा ल्याउन लागिएको उनले बताए ।

‘कर्णालीमा विद्युतीकरण नहुँदा २ सय ४१ मध्ये अझै १ सय ३९ वटा बीटीएस टावरमा सोलार, जेनेरेटर तथा स्थानीय हाईड्रो पावरबाट टावर रिचार्ज गर्नुपर्ने बाध्यताका वावजुद भरपर्दो र गुणस्तरीय बनाउन प्रयासरत रहेका छौं,’ उनले भने, ‘प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा एफटीटीएच सेवा पुगिसकेको र छिट्टै रुकुम पश्चिम, कालिकोट र जुम्लामा विस्तार गर्न लागिएको छ ।’ उनले कर्णालीको डोल्पामा एफटीटीएचका लागि सर्बे भई पाइपलाइनमा रहेको र हुम्ला एवं मुगु जिल्लामा मात्र माइक्रो वेवबाट टेलिफोन सेवा सञ्चालनमा रहेको जनाए ।

उनका अनुसार चालु आर्थिक वर्षमा १० वटा बीटीएस टावरमा विद्युतीकरण भईसकेको र थप १० वटामा विद्युतीकरणका लागि काम भईरहेको छ । अहिले कर्णालीमा ५० प्रतिशत बीटीएस टावरमा सुधार गरिएपनि दुर्गमका केही जिल्लामा विद्युत, सडक पहुँच र कम जनशक्तिका कारणले सोचेजति फड्को मार्न नसकिएको टेलिकम कर्णाली प्रादेशिक कार्यालयका उपप्रबन्धक (प्राविधिक प्रमुख) राजन शर्माले बताए । उनले पहिलेको भन्दा अपेक्षाकृत तीव्रतर गतिले काम अघि बढेको भएपनि बेला बखत आउने प्राकृतिक व्यवधानसँगै विद्युत प्राधिकरण तथा सडक कार्यालय जस्ता निकायहरुसँगको समन्वय ढिलाईले समस्या हुने गरेको जनाए ।

कार्यक्रममा टेलिकमका उत्पादन विक्री लक्ष्यमा देशैभर सुर्खेत दोस्रो स्थानमा आउन सफल भएपछि सुर्खेत शाखा कार्यालय प्रमुख सन्तोष शर्मालाई प्रशंसा तथा कदरपत्रले सम्मान गरिएको छ भने दिर्घ सेवा पदकबाट गिरीराज चन्द्रलाई सम्मान गरिएको छ । १९ औं वार्षिकोत्सवका अवसरमा भएका विभिन्न खेल विद्याका ११ जना खेलाडीलाई प्रशंसा तथा कदरपत्रले सम्मान गरिएको हो ।

सम्मानित हुनेमा व्याडमेन्टिनतर्फ प्रथम रविन्द्र शाही, द्वितीय नविन गुरुङ, टेवल टेनिसतर्फ प्रथम राजन शर्मा, द्वितीय रविन्द्र शाही, क्वीज कन्टेन्टतर्फ प्रथम विनोद शर्मा, द्वितीय सुरेश विसी, स्लो दौड पुरुषतर्फ प्रथम रुपक पुडासैनी, द्वितीय नारायण रेग्मी, महिलातर्फ प्रथम कृष्णा थानी, चेसतर्फ प्रथम पुरुषोत्तम गौतम, द्वितीय प्रकाशचन्द्र सिग्देल रहेका छन् । कार्यक्रममा उत्कृष्ट डिलर ग्लेक्सी इन्टरनेशनल ट्रेड सेन्टर प्रालिलगायतलाई समेत प्रशंसा तथा कदरपत्रले सम्मान गरिएको थियो ।

Translate »