सासू कुट्ने बुहारीलाई ३ महिना कैद, ५० हजार जरिवाना

माघ २३, अछाम । अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद र क्षतिपूर्तिको फैसला सुनाइएको हो । अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अपमान तथा अमानवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०र५० हजार रुपियाँ क्षतिपूर्तिको फैसला समेत भएको छ ।

भदौ ८ गते दुई बुहारीले जयसरालाई कुटपिट गरिरहेको भिडियो पीडितका नातिले सामाजिक सञ्जालमा हालेपछि सोही आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो ।

अछाम प्रहरीले भदौ २० गते अपमान तथा अमानवीय व्यवहारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । अछाम जिल्ला अदालतले दुवै जनालाई जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

पीडित जयसरालाई कुटपिट गरिरहेको भिडियो खिचेर फेसबुकमा हाल्ने पीडितका नाति ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई भदौ १० गते जिल्ला प्रहरी कार्यालयले सम्मानित गरेको थियो । सूचना उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका भएको भन्दै बालकलाई सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला मन्त्री रणबहादुर रावलबाट सम्मानित गरिएको थियो ।

श्रीमतीको हत्यारालाई २५ बर्ष कैद
बन्चरो प्रहार गरेर पत्नीको बीभत्स हत्या गरेको आरोपमा पक्राउ परेका सोही नगरपालिका–७, पुल्लेतोलाका पदम कामीलाई २५ वर्ष कैद र एक लाख रुपियाँको क्षतिपूर्तिको फैसला पनि सुनाइएको छ । पत्नी मान्म कामीलाई साउन ११ गते राति हत्या गरेको भन्दै आफन्तले प्रहरीमा खबर गरेपछि पीडक फरार रहेका थिए । हत्यापछि फरार रहेका पदमलाई साउन २४ गते कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजारबाट पक्राउ गरिएको थियो । पीडक भदौ १६ गतेबाट पुर्पक्ष थुनामा रहेका छन् । रेडियो नेपाल

Translate »