अण्डाको बजारमूल्य किसानले पाएभन्दा दोब्बर

माघ २५, काठमाडौं । किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएर आन्दोलन गर्ने क्रम बढ्दो छ । मंगलवार झापाका अण्डा उत्पादक किसान उचित मूल्य नपाएको भन्दै कुखुरा र अण्डासहित सडकमा उत्रेर विरोध प्रदर्शन गरे ।

किसानले उत्पादन लागतभन्दा कममा बेचेको अण्डालाई उपभोक्ताले भने झन्डै दोब्बर मूल्य तिरिरहेका छन् । फौबन्जारले किसानसँग ८ रुपैयाँ गोटामा अण्डा किन्छन् । त्यसलाई उपभोक्ताले १५ रुपैयाँसम्म तिरेर किनिरहेका छन् ।

बजारमा फौबन्जार हावी हुँदा किसानले उचित मूल्य नपाउने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने स्थिति बनेको हो । अहिले अण्डाको फार्म मूल्य (किसानले पाउने मूल्य) ८ रुपैयाँ गोटा छ । एउटा अण्डाको उत्पादन लागत १३ रुपैयाँ पर्ने किसान बताउँछन् । यस हिसाबले एउटा अण्डामा किसानले ५ रुपैयाँ नोक्सान बेहोरिरहेका छन् । त्यही अण्डामा बीचका व्यापारीले ७ रुपैयाँसम्म नाफा खाएर उपभोक्तालाई विक्री गरिरहेका छन् । यसले गर्दा किसान सडकमा उत्रिनुपर्ने बाध्यात्मक परिस्थिति आएको नेपाल अण्डा उत्पादक संघका महासचिव प्रविन केसीले बताए ।

केसीका अनुसार २ वर्षअघि सरकारले तोकिदिएको अण्डाको लागत मूल्य प्रतिगोटा ११ रुपैयाँ ५७ पैसा हो । यसबीचमा कुखुरालाई खुवाउने दानाको मूल्य दोब्बरभन्दा धेरै भइसके पनि सरकारले नयाँ लागत मूल्य तोकेको छैन । अहिलेको महँगीअनुसार प्रतिगोटा अण्डाको लागत मूल्य १३ रुपैयाँ हो । ‘दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ । यो अन्तरालमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ तर अण्डाको लागत मूल्य पुरानै कसरी हुन सक्छ ?’ उनले भने ।

अण्डाको मूल्य घटाउने वा बढाउने काम नेपाल अण्डा उत्पादक संघ आफैले गरे पनि अहिले ठूला अण्डा उत्पादक व्यवसायी र फौबन्जारको सिन्डिकेटले संघ अण्डाको मूल्य बढाउन सक्ने हालतमा नभएको उनले जानकारी दिए । संघले तोकेको मूल्यभन्दा कममा ठूला व्यवसायीले अण्डा बेचिदिनाले मूल्य बढाउन समस्या भएको संघको भनाइ छ ।

अहिले अण्डा उत्पादक किसान समस्यामा पर्नुको कारण मागभन्दा अधिक उत्पादन पनि हो । अहिले नेपालमा दैनिक करीब ४० लाखदेखि ४५ लाख गोटा अण्डा उत्पादन हुने गरेको संघको तथ्यांक छ । तर, देशभरको कुल माग दैनिक २५ लाखदेखि ३० लाख गोटा मात्रै छ । यस हिसाबले अचेल दैनिक १५ लाख गोटा अण्डा बढी उत्पादन भइरहेको छ । माघमा स्वस्थानी व्रत हुने र अर्थतन्त्रमा देखिएको संकटका कारण अण्डाको माग घटेको संघको भनाइ छ । आर्थिक अभियान

Translate »