नाग्म–गमगडी सडक : साढे ६ किमी पिच गरिँदै

९३ किमी दुरी रहेको नाग्म–गमगडी सडकको साढे ६ किमी सडक पहिलो चरणमा कालोपत्रे हुने

माघ २५, जुम्ला । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य रारा ताल जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक कालोपत्रे गरिने भएको छ । चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने गरी नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो ।

९३ किलोमिटर दुरी रहेको नाग्म–गमगडी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे ६ किमी सडक कालोपत्रे गर्न लागिएको सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाईले बताए । भने हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म, नाला निर्माण कंक्रीट ढलान, पर्खाल निर्माण लगायत स्टक्चरको काम हुने भएको छ ।

इन्जिनियर चौलागाईले भने,‘पहिलो चरणमा साढे ६ किलोमिटर सडक कालोपत्रे हुने छ । टेण्डर भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेश समेत भइसकेको छ । भने फागुन पहिलो हप्ताबाट कालोपत्रेको काम सुरु हुने छ ।’ ‘थोदुङ बाचन जेभी कम्पनी’ले कालोपत्रेको ठेक्का पाएको छ । निर्माण कम्पनीले चालु आवकै असार मसान्त भित्र कालोपत्रे सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईले जानकारी दिए । उनका अनुसार नाली निर्माण, पक्की पर्खाल निर्माण, कंक्रीट ढलानका साथै कालोपत्रेको काम हुने छ ।

नाग्म–गमगडी सडकको साढे ६ किलोमिटर सडक कालोपत्रेका लागि ४० करोड खर्चिने भएको छ । निर्माण व्यवसायीसँग कालोपत्रेका लागि ४० करोडको ठेक्का सम्झौता भएको छ । कालोपत्रेसँगै अन्य नाला निर्माण कंक्रिट ढलान,पर्खाल निर्माण लगायतका कामहरू हुने छन् । पहिलो चरणमा ४० करोड लागतमा साढे ६ किमी सडक कालोपत्रे भएपनि समग्र ९३ किमी नै सडक कालोपत्रेका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । उनले भने,‘नाग्म–गमगडी सडक ग्राभेल गरेर सकिएको छ । अबको प्राथमिकता भनेकै सडक कालोपत्रे गर्नु हो ।

नाग्म–गमगडीको बाँकी ८६ किमी सडकलाई कालोपत्रे गर्न बजेट व्यवस्थापन गर्न सरकारले जोड दिन आवश्यक छ ।’ गुठिज्युला रारा तालको प्रवेशद्वार भएकोले पनि कालोपत्रेपछि पर्यटकलाई राहत हुने अपेक्षा गरिएको छ । सडकको कारण देखाउँदै पछिल्लो वर्षमा रारा आउने पर्यटकको संख्यामा गिरावट आएको छ । पर्यटकलाई राहत हुने गरी सडक विकासको कामलाई भने सडक डिभिजनले निरन्तरता दिएको छ । रेडियो नेपाल

Translate »