सुर्खेत प्रहरीलाई स्रोतसाधनको अभाव : सुरक्षा दिने प्रहरी नै असुरक्षित

स्काई न्यूज /माघ २५, सुर्खेत । सुर्खेतका अधिकांश प्रहरी चौकीमा स्रोतसाधनको अभावले शान्ति सुरक्षामा खटिने प्रहरी नै असुरक्षित बन्नु परेको छ । जिल्लाका सुदूर ग्रामीण क्षेत्रमा मात्र होइन, शहरका नागरिकको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत स्रोतसाधनसँगै जीर्ण भवनमा बस्नु पर्दा असुरक्षित बन्नु परेको हो । आफ्नै भवन नहुँदा प्रशासनिक कार्यालय र कर्मचारी सुत्ने ठाउँ एउटै हुँदा दरबन्दी अनुसारका प्रहरीलाई सुत्नै समस्या हुँदै आएको सुरक्षाकर्मीहरु बताउँछन् ।

एउटै कोठाको भरमा प्रहरी चौकी चलाउनु पर्दा कतिपय चौकीमा व्यवस्थापन गतिलो हुन सकेको छैन् । कतिपयको आफ्नै भवन छैन् । भएका कतिपय ठाउँमा स्रोत साधनको अभाव छ । कतिपय स्थायी चौकी समेत भाडाको र जीर्ण भवनमा बस्न बाध्य छन् । ग्रामीण तहका मात्रै नभई सहरकै प्रहरी चौकी भाडाको घरमा सञ्चालनमा छन् । चौकुने गाउँपालिकाका लगाम, बेतान, विजौरा, गुटु पञ्चपुरी नगरपालिकाका विद्यापुर, जामु, कुइने, छाप्रे, सालकोट एवं बराहतालको बड्डीचौर प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीले असुरक्षित र आफ्नै स्वमात्विका भवन विहीन छन् ।

कतिपय अवस्थामा पक्राउ परेका अभियुक्तलाई आफूसँगै सुताउनु पर्ने बाध्यता रहेको प्रहरीको गुनासो छ । दुर्गममा प्रहरी संख्या कम हुन्छ, त्यसैमाथि पक्राउ परेका अभियुक्तलाई आफैँसँग राख्नु पर्दा थप असुरक्षित महसुस हुने सुरक्षाकर्मीको भनाइ छ । ग्रामीण तहका मात्रै नभई शहरकै प्रहरी चौकी भाडाको घरमा सञ्चालनमा छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) सुरज कार्कीका अनुसार जिल्लाभरी ४५ ओटा प्रहरी चौकी मध्ये १० वटाको मात्र आफ्नो भवन छ । ती मध्ये १७ वटा अस्थायी प्रहरी चौकी छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमै रहेका नगरप्रहरी कार्यालय, बसपार्क, शहीद पार्क, लाटिकोइली, सहकारी चोक, सुब्बाकुना, बाङ्गेसीमल, गोठीकाँडालगायतका प्रहरी चौकीको आफ्नो संरचना छैन् । सूचना अधिकारी कार्कीका अनुसार जिल्ला प्रहरी कार्यालयकै जग्गा समेत आफ्नो नाममा नभई नगर विकास समितिको नाममा रहेको छ । उनले भने, ‘प्रहरीको आफ्नै निजी संरचना नहुँदा कतिपय अवस्थामा अरुको सम्पत्ती ओगटेर बस जस्तो आभास हुन्छ,’ उनले भने, ‘प्रहरीको आफ्नै संरचना बनाउनका लागि थ्रुप्रै प्रयासहरु नभएका होइनन्, तर अरुको सेवामा रातदिन खटिने प्रहरी कता न कता आफ्नै समस्यालाई गौण राखेको देखिन्छ ।’

उनले गत वर्ष ३ वटा प्रहरी चौकी भवन निर्माणका लागि रकम आएको र यस वर्षपनि एउटा भवन निर्माणका लागि आउने पक्का भएको जनाए । सुर्खेतका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाले धेरैजसो प्रहरी चौकी भाडा र सरकारी तथा गैरसरकारी संस्थाका भवनबाट प्रहरीले सुरक्षा दिँदै आएको बताए । उनले जिल्लाका विभिन्न स्थानमा प्रहरी चौकी भवन निर्माणका लागि जग्गा प्राप्तिको मुख्य समस्या रहेपनि प्रहरीको केन्द्रीय कार्यालयसँगै अन्य निकायहरुसँग निरन्तर सहयोग माग गरिएको जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा ५ सय ४३ जना प्रहरीको दरबन्दी रहेको छ । ‘सुर्खेतका लागि ५ सय ४३ जनाको दरबन्दी धेरै पहिलेको आवश्यकतालाई मध्यनजर गरेर बनाईएको हो,’ उनले भने, ‘सुर्खेत प्रदेश राजधानी बनेसँगै अपराधको संख्या समेत बढेकाले भीआईपीदेखि अन्य कार्य हिसावले अब प्रहरीको दरबन्दी दोब्बर पु¥याउनु पर्ने अवस्था आएको छ । उनले दरबन्दीका ५ सय ४३ सहित अन्य विभिन्न स्थानबाट काजमा आएका गरि हाल सुर्खेतमा ७ सय २७ जना कार्यरत रहेको जनाए ।

उनका अनुसार थप जनशक्तिका लागि सधै प्रदेश प्रहरी कार्यालय र गणको भर पर्नुपर्ने बाध्यता छ । जिल्लामा रहेका प्रहरी चौकीसँग धेरै ठाउँमा आफ्नो जमीन र भवन दुवै छैन भने केही ठाउँमा जमीन भएपनि भवन नभएको उनको भनाइ छ । नागरिकको सुरक्षा गर्ने प्रहरी नै असुरक्षित भवनमा बस्दा सुरक्षा क्षेत्रमा चुनौती हुने चौकुने गाउँपालिकाका समाजसेवी काशीराम देवकोटा जैसी बताउँछन् । ‘समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरी आफैँ असुरक्षित हुँदा शान्ति सुरक्षा कायम गर्न असहज हुँने गर्छ’, उनले भने । जिल्लाका अधिकांश प्रहरीचौकी जीर्ण भवनमा सञ्चालन भइरहँदा समस्या हुने गरेको भएपनि आधा दर्जन प्रहरी भवन भने सुविधा सम्पन्न छन् ।

Translate »