अख्तियारको निबन्ध प्रतियोगितामा पश्चिम रुकुमकी अञ्जना खत्री प्रथम


स्काई न्यूज /माघ २८, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले आयोजना गरेको प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा पश्चिम रुकुमकी अञ्जना खत्री प्रथम भएकी छन् । अख्तियारले आफ्नो ३२ औं वार्षिक उत्सवको अवसरमा आयोजना गरेको निवबन्ध प्रतियोगितामा १ सय २६ जना सहभागि विद्यार्थी मध्ये पश्चिम रुकुमकी अञ्जना प्रथम भएकी हुन् । यामुनान्द नमूना माध्यमिक विद्यालय सेरीगाउँमा कक्षा १२ मा अध्ययनरत छात्रा अञ्जनालाई अख्तियारले शनिबार एक कार्यक्रमवीच १२ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

प्रतियोगितामा द्वितीय स्थान रुक्मिणी माध्यमिक विद्यालय रुकुमकोट पूर्वी रुकुममा कक्षा ९ मा अध्ययनरत छात्रा सोनिलिजा गौतमले प्राप्त गरेकी छन् । उनलाई ९ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ । प्रतियोगितामा सितल माध्यमिक विद्यालय चौरजहारी पश्चिम रुकुममा कक्षा ११ मा अध्ययनरत छात्र सूरज ओलीले तृतीय स्थान प्राप्त गरेका छन् । उनलाई ७ हजार ५ सय नगदसहित प्रमाणपत्रले सम्मान गरिएको छ ।


प्रतियोगितामा सम्मानित तिनै जना प्रतियोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रमुख शिवनाथ पौडेल र अख्तियारकै प्रहरी नायव उपरीक्षक (डीएसपी) लालबहादुर बमले संयुक्तरुपमा पुरस्कृत गरेका छन् । कार्यक्रममा दिवसकै अवसरमा आयोजित व्याडमिन्टन, टेवल टेनिस, फुटसल तथा घैटो फोड प्रतियोगिताका विजेता २१ जना खेलाडीलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

त्यस्तै अख्तियार सुर्खेतमा कार्यरत उत्कृष्ट नौ जना कर्मचारीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । दिवसकै अवसरमा रक्तदान गर्ने २४ जना रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको छ । यसअघि दिवसकै अवसर पारेर सरसफाई तथा वृक्षारोपण गरिएको अख्तियार सुर्खेतका शाखा अधिकृत भीमप्रकास खत्रीले जानकारी दिए ।


