अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुने

माघ २९, काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी अनेरास्ववियूले आफ्नो २३ औं राष्ट्रिय महाधिवेशन फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नाराका साथ हुन लागेको महाधिवेशनको फागुन २ गते दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले अनेरास्ववियूको आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास गरिने बताइन् । उनले सर्वसम्मतरूपमा नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट निर्वाचन गर्नेगरी प्रबन्ध मिलाइएको जानकारी दिइन् । उनले महाधिवेशनबाट १९९ जनाको केन्द्रीय कमिटी निर्वाचित हुने बताइन् । त्यस्तै अनुशासन, लेखा र निर्वाचन आयोगमा अध्यक्ष, सचिव र सदस्यसहित १५ जनाको समिति निर्वाचित गरिने जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष बरालले राज्य व्यवस्थालाई बलियो बनाउनका लागि स्ववियू निर्वाचन आवश्यक रहेको बताइन् । विश्वविद्यालयहरूका नीतिगत निर्णयहरूमा हस्तक्षेप गर्नका लागि स्ववियू निर्वाचन चाहिने उनको भनाइ छ । क्याम्पस प्रशासनहरूबाट विद्यार्थीहरूको भावनालाई सम्बोधन गराई निर्णय गराउन पनि स्ववियूको आवश्यकता रहेको उनले बताइन् । अध्यक्ष बरालले आफूहरू स्ववियु निर्वाचनको पक्षमा रहेको र त्यसको तयारीमा लागेको पनि बताइन् ।

राष्ट्रिय महाधिवेशनमा देशभरका क्याम्पसहरूबाट १५ सयभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति हुने जनाइएको छ ।

Translate »