पोषण सुधारका लागि खोलिएका ओटिसीलाई व्यवस्थित गराउन सुझाव

सुर्खेत, १ फागुन । सुर्खेतमा सञ्चालित पोषण अवस्था सुधारका लागि खोलिएका बहिरङ्ग उपचार केन्द्र (ओटीसी) सेन्टरलाई व्यवस्थित गराउन सुझाव दिएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पोषण सुधार समिक्षा बैठकका सहभागिहरुले कडा कुपोषण भएका बालबालिकाको उपचारका लागि खोलिएका जिल्लाका नौ वटै स्थानीय तहमा अवस्थित ओटीसी सेन्टरलाई थप व्यवस्थित गराउनु पर्ने सुझाव दिएका हुन् । स्वास्थ्यकर्मीहरुले कुपोषण भएका बालबालिकाहरुको अवस्था सुधारका लागि ओटीसी सेन्टरबाट सहयोग पुगेपनि अझै  व्यवस्थित हुन नसकेको बताएका छन् ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बहिरङ्ग उपचार केन्द्र व्यवस्थापनको लागि पालिकाहरुले नै बढी ध्यान दिनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य सेवाको बजेट सिधै सम्बन्धित पालिकामै जाने भएकाले कुपोषण अन्त्यका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औल्याए । सुआहारा कार्यक्रमका कर्णाली प्रदेश संयोजक सुरजकुमार शर्माले प्रदेशमा पोषणको अवस्था तुलनात्मकरुपले सुधार भएपनि कम तौल भएका बच्चाको जन्म र पूर्ण स्तनपानको अवस्थामा अझै सुधार गर्नुपर्ने देखिएको जनाए । उनले पोषण सुधारका लागि सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नौ वटा पालिकाका १३ वटा स्वास्थ्य संस्थामा ओटीसी सेन्टरहरु सञ्चालनमा रहेको जनस्वास्थ्य सेवा कार्यालयका पोषण फोकल पर्सन अमर रानाले जानकारी दिए । उनले समुदायमा महिला स्वास्थ्य स्वंम्सेविका र स्वास्थ्यकर्मीले पहिचान गरेर पोषण सुधारका लागि ल्याइएका कुपोषित बालबालिकाहरुको ती सेन्टर मार्फत उपचार हुँदै आएको बताए । सुआहारा कार्यक्रमको प्राविधिक सहयोगमा आयोजित दुई दिने समिक्षा बैठकमा जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा, ओटीसी सेन्टरका फोकल पसर्नन र ओटीसी सञ्चालन भएका स्वास्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

Translate »