कर्णालीमा रेडियो नेपालको थप क्षमता विस्तार गरिने

स्काई न्यूज /फागुन २, सुर्खेत । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले कर्णाली प्रदेशमा रहेका रेडियो नेपालका एफएम ट्रान्समिटरको स्तरोन्नतीसँगै थप कार्यक्रमको विविधिकरण गर्न लागिएको बताएका छन् । सोमबार रेडियो नेपाल सुर्खेत प्रादेशिक प्रसारण केन्द्रको निरीक्षण तथा अनुमगमन गर्दै उनले रेडियो नेपाललाई समय सापेक्ष सुधार गर्दै नागरिकका भावना तथा अपेक्षा अनुरुपका कार्यक्रमहरु सञ्चालन गर्न लागिएको जानकारी दिए ।

निर्देशक केसीले रेडियो नेपालको क्षमता विस्तारका लागि पश्चिम रुकुमको जन्ती बस्ने लेकमा एफएम ट्रान्समिटर स्थापनासँगै सुर्खेतको वीरेन्द्रनगरमा १ हजार र हर्रेमा २ हजार वाटको एफएम ट्रान्समिटर राख्न लागिएको बताए । उनका अनुसार साविक कर्णालीका पाँचै जिल्लामा रहेका रेडियो नेपालका एफएम ट्रान्समिटरलाई आधुनिक प्रविधिको प्रयोग गरेर थप स्तरोन्न्ती गर्न लागिएको छ ।

उनले सुर्खेत प्रादेशिक प्रसारण केन्द्रबाट प्रदेश तथा स्थानीय सरकारहरुसँगको सहकार्यमा आवश्यकतामा आधारित रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रसारण गरिने बताए । निरीक्षण अनुगमनमा आउनु भएका कार्यकारी निर्देशक केसीसँगै रेडियो नेपालका नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, निर्देशक पुष्करराज गौतम, मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मीलाई सुर्खेत प्रादेशिक प्रसारण केन्द्रका प्रमुख आन्नदविश्व पन्तले समसामयिक विषयका गतिविधिहरु तथा भावि योजनाका बारेमा जानकारी गराएका थिए ।

Translate »