वडाध्यक्षको पारिश्रम सामाजिक कार्यमा
स्काई न्यूज /फागुन ४, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाका वडाध्यक्ष गणेश भण्डारीले आफ्नो पारिश्रम सहितको सेवा, सुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । निर्वाचनताका मतदातासँग मतमाग्दा सरकारी सेवा, सुविधा सामाजिक कार्यमै खर्च गर्ने घोषण गरेका १३ नम्वरका वडाध्यक्ष भण्डारीले आफ्नो पारिश्रम विद्यार्थीलाई छात्रवृत्ति, ज्येष्ठ नागरिकलाई सम्मान, शहीद परिवारलाई सम्मान र अन्तर जातिय विवाह गर्ने जोडिलाई खर्चिएका हुन् । विहीबार १३ नम्वर वडा कार्यालयले आयोजना गरेको सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम मार्फत वडाध्यक्षले भण्डारी उक्त रकम वितरण गरेका छन् ।
वडाध्यक्ष भण्डारीले आफ्नो हालसम्म पाएको सेवा सुविधाको रकम र अन्य समाजसेवी व्यक्तिहरुबाट संकलन भएको सहयोगबाट आमावाबु वा अथवा दुवै गुमाएका वडाभित्रका १ देखि १२ कक्षासम्मका ६६ जना विद्यार्थीलाई पैतिस सयका दरले २ लाख ३१ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेका हुन् । उनले ८० वर्ष माथिका ६२ जना ज्येष्ठ नागरिक, ११ घरका शहीद परिवार र अन्तर जातिय विवाह गर्ने ७ जोडीलाई नगद सहित सम्मान गरिएको जनाए । आफ्नो ५ वर्षे कार्यकालबाट पाएको पारिश्रम र अन्य सेवा, सुविधाको रकमलाई अक्षयकोष स्थापना गरी सामाजिक कार्यमा खर्चिने उनको भनाइ छ ।