वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु हुँदै ‘कर्णाली उत्सव, कुडा कर्नालीका’

स्काई न्यूज /फागुन ४, सुर्खेत । सुर्खेतमा कर्णाली उत्सवको चौथो संस्करण शुक्रबारदेखि शुरु हुने भएको छ । कर्णालीको समृद्धिका लागि ऋति फाउण्डेसनले विगत ३ वर्षअघिदेखि विभिन्न सरोकारवालाको सहयोगमा सञ्चालन गर्दै आएको कर्णाली उत्सव कुडा कर्णालीकाको सम्पूर्ण तयारी पुरा भएको विहीबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका छन् ।

वीरेन्द्रनगरको बुलबुले उद्यानमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक मध्येका एक जना प्रकाश लामिछानेले जानकारी दिए । उनले उत्सवमा आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गरिने जनाए । उनका अनुसार उत्सवमा १६ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन् भने पैकेलोका कथाहरू, लोकबाजाका प्रस्तुतिहरूसँगै विभिन्न विषयमा छलफल हुने छन् ।

‘यसअघिका श्रृखलामा ४० वटा विभिन्न मुद्धामा देशका चर्चित २ सय ५ जनाले गन्थन, मन्थन र चिन्तन गरिसकेका छन्,’ उनले भने, ‘कुडा कर्णालीको चौथो संस्करणमा १६ वटा सेशनमा ६० जना वक्ताहरुलाई समवेश गरिएकाले अघिल्ला श्रृखला भन्दा यसपटक नयाँ स्वाद दिने प्रयास गरेका छौं ।’ उनले कर्णालीको समृद्धिका लागि यस प्रकारका बहस, छलफल र कार्यक्रम निरन्तर अपरिहार्य रहेको जिकिर गरे । शुक्रबार बिहान वीरेन्द्रनगरदेखि साइकल र्‍याली हुनेछ ।

Translate »