रुकुम पश्चिमबाट रेडियो नेपालको एफएम प्रसारण गर्ने तयारी
रुकुम पश्चिम । रुकुम पश्चिमबाट रेडियो नेपालको एमएम प्रसारणको तयारी गरिएको छ ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पर्ने जन्तीबस्ने लेकमा रेडियो नेपालको एफएम ट्रान्समिटर स्थापना गरेर प्रसारण पहुँच विस्तार गर्न लागिएको हो । जसका लागि विहाबार रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी नेतृत्वको टोलीले जन्तीबस्ने लेकमा पुगेर अध्ययन समेत गरेको छ ।
उक्त टोलीमा कार्यकारी निर्देशक केसीसँगै नायब कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेल, निर्देशक पुष्करराज गौतम, मुख्य कार्यक्रम अधिकृत गोकर्ण रेग्मी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा रुकुम पश्चिमको जन्तीबस्ने लेकमा रेडियो नेपालको एफएम ट्रान्समिटर राख्दा रुकुम पश्चिमसँगै छिमेकी जिल्लाहरूमा समेत राम्रो प्रसारण पहुँच हुने प्रारम्भिक अध्ययनबाट देखिएको कार्यकारी निर्देशक केसीले बताए । नेपाल टेलिकमसँगको सहकार्यमा टावर तथा अन्य भौतिक पूर्वाधारमा सहकार्य गरेर छिटै एमएम प्रसारण गरिने उनको भनाई छ ।
उक्त स्थानमा नेपाल टेलिकमको टावर तथा भवन समेत रहेको छ । जन्तीबस्ने लेकमा रेडियो नेपालको एफएम ट्रान्समिटर स्थापना भएमा रेडियो नेपालको केन्द्रीय तथा कर्णाली प्रदेश प्रसारण यस क्षेत्रका श्रोताहरूले सहजै सुन्न सक्नेछन् ।
जतिसक्दो छिटो रेडियो नेपालको प्रसारण विस्तार गर्न त्यस स्थानमा भौतिक संरचना निर्माण सहयोगको व्यवस्था गरिदिन मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीलाई भेट गरेर उक्त टोलीले अनुरोध समेत गरेको छ ।
त्यससँगै कर्णाली क्षेत्रमै रेडियो नेपालको क्षमता विस्तार गर्न सहयोग र समन्वय गरिदिन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासँग पनि अनुरोध भइसकेको छ ।(रेडियो नेपाल)