एमालेले प्रस्ताव गरेको उम्मेदवार नै राष्ट्रपति बन्नु हुन्छ : एमाले सचिव भट्टराई

स्काई न्यूज/फागुन ६, सुर्खेत ।  राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न करिब एक साता बाँकी रहँदा नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता साझेदार दलबीच पुस १० गते भएको सहमति अनुसार नै एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताएका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले सत्ता साझेदार दलहरु वीच जुन जगमा टेकेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नु भएको हो, त्यही जगमा टेकेर नेकपा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति बन्नेमा विश्वस्त रहन आग्रह गरेका हुन् ।

नेकपा एमालेले देशव्यापी सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रसरुट’ अभियान लिएर कर्णाली आएका एमाले सचिव भट्टराईले राष्ट्रपतिलाई त्रासको विषयवस्तु बनाइनु गलत भएको बताउँदै संवैधानिक पदलाई शक्ति केन्द्रका रुपमा परिभाषित नगर्न आग्रह गरे ।

‘बहुदलीय व्यवस्थामा कुनै व्यक्ति सहमतिका साथ पदमा जान्छ राम्रै कुरा हो, त्यो हुनैपर्छ भन्ने ग्यारेन्टी छैन, किनकी यो एकदलीय व्यवस्था होइन, यहाँ विकल्पहरु छन्, छनोटहरु छन्, राष्ट्रपति पनि त्यस्तै छनोटमा पर्ने पद हो,’ उनले भने, ‘एमाले कसैसँग राष्ट्रपति पद मागेको छेन्, यो त अरु कसैले दिएकाले गठबन्धनभित्र रहेका दलहरुको साझा उम्मेदवार एमालेले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुन्छ ।’

अहिलेको सत्ता गठबन्धन नै ५ वर्षसम्म ढुक्कले चल्ने बताउँदै उनले देशलाई समृद्धि बनाउने अभियानमा एमालेले १० लाख ९२ हजार बढी संगठित सदस्यलाई परिचालन गर्न लागेको जानकारी दिए । उनका अनुसार यो अभियानका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई ११ वटा कार्यादेश दिएर पालिकाहरुमा खटाइएको छ ।

उनीहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव संकलन जस्ता काम गर्नेछन् । यो अभियानबाट पार्टीले नयाँ गति लिने एमालेको विश्वास रहेको उनको भनाइ थियो ।

 

Translate »