सांसद अरुणकुमार चौधरी कैदमुक्त
धनगढी । कैलाली जिल्ला कारागारमा रहनुभएका निलम्बित सांसद अरुणकुमार चौधरी कैदमुक्त भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै चौधरीलाई कैदमुक्त गरिएको कारागार प्रमुख लालबहादुर बोगटीले बताए । कारागारबाट ८५ प्रतिशत कैद भुक्तानी गरेका र असल चालचलन रहेका अन्य ४ जनाको समेत कैद मिनाहा भएको उनले जानकारी दिए ।
कारागारबाट छुटेका सांसद चौधरीलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी थिइन् । ट्याक्टर आगजनी मुद्दामा ६ महिना कैद सजाएको फैसला भएका चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशमा प्रहरीले चौधरीलाई माघ २० गते जिल्ला कारागार चलान गरेको थियो । चौधरी नागरिक उन्मुक्तिका सचेतक समेत हुन ।