रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार

फागुन ८,सुर्खेत । कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ । कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो । सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । मन्त्रालयले प्रांगारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथाने बाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौ, उवा, लट्टेलगायतको संरक्षण, प्रवर्द्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ । यसअनुरूप २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस मनाउन शुरू गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए ।

‘कर्णाली आयातित वस्तुमा निर्भर छ भन्ने भनाइ भ्रम हो,’ उनले भने, ‘यो प्रदेशमा गोठे मल प्रयोग गरी रैथानी बाली उत्पादन गरिन्छ । विषादी र रासायनिक मल प्रयोग भएको छैन ।’

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले रैथाने बालीमा भिटामिन, प्रोटिन, क्यालोरी कति पाइन्छ भन्ने थाहा पाउन र यसको महत्त्व बुझाउन पाठ्यक्रम तयार हुनुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका अध्यक्ष दिनेश खत्रीले कर्णाली प्रांगारिक सम्भावना बोकेको एक मात्र प्रदेश भएको दाबी गरे । ‘अहिले जुम्लाको अग्र्यानिक उत्पादन किन्न जुम्ला जानुपर्दैन, सुर्खेतमै आउँछ । त्यसैले रैथानी बालीको महत्त्व, उत्पादन र संरक्षणबारे बुझाउन जरुरी छ ।’

मन्त्रालयका सचिव डा. लेखराज दाहालले शैक्षिक क्षेत्रको अनुपम उदाहरण मानिने सुर्खेतको कोपिला भ्याली स्कुलले रैथाने बालीबाट उत्पादित वस्तु खुवाउने लक्ष्य राखेको भन्दै उक्त कामको प्रशंसा गरे । यहाँका शिक्षण संस्थामा प्रांगारिक उत्पादनसम्बन्धी जोडिएको विषयवस्तु पढाइ हुनुपर्ने उनको भनाइ थियो ।

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले प्रदेश सरकारले राखेको लक्ष्य, उद्देश्य र त्यसका लागि थालेको अभियान तथा सञ्चालन गरिएका गतिविधिले सकारात्मक सन्देश दिएको बताए । यद्यपि आयातित वस्तुको उत्पादन रोक्न रैथानी बालीको उत्पादकत्व बढाउनुपर्नेमा उनले जोड दिए ।

कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथाने बालीको परिचय, त्यसको इतिहास, महत्त्व, उत्पादनको अवस्था, घट्नुका कारण, संरक्षण गर्ने उपाय, देखिएका चुनौती तथा समस्या र प्रदेश सरकारले थालेका कदमका बारेमा कार्यपत्र प्रस्तुत गरे । कर्णालीमा हेला गरिएको बालीको मूल्य र महत्त्व अहिले नेपाली तथा विश्वबजारमा बढ्दै गएको उनले बताए ।

प्रवक्ता कठायतले भने, ‘मानिसले महत्त्व बुझ्दै गएपछि अहिले विद्यालयको खाजा कार्यक्रममा पनि यहाँको रैथाने बालीबाट बनेका परिकार खुवाउन थालिएको छ ।’ खाद्य विविधीकरण, बजारीकरण र उत्पादकत्वमा बढाएर निर्यातमा समेत जोड दिइएको उनले बताए । उक्त दिवसको अवसरमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले स्याउको चाना, ओखर, सिमी, दाल, मार्सी चामल, ऊनको टोपी, मफलरलगायत रैथाने उत्पादनको स्टल प्रदर्शनीमा राखेको थियो । रासस

Translate »