‘देशको स्वतन्त्रता, सार्वभौमिकता तथा भूअखण्डता कायम गर्न देशभक्त विद्यार्थी एकजूट हुनु पर्छ’

फागुन १०, सुर्खेत । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेक्राविसंघका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले देशको स्वतन्त्रता, सार्वभौमिकता तथा भूअखण्डता कायम गर्न देशभक्त विद्यार्थी एकजूट हुनुपर्ने बताएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल क्रान्तिकारी विद्यार्थी संघको १० औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दैै यस्तो बताएका हुन् । उनले एमसीसी पारित गराएर संरा अमेरिकाले नेपाललाई युद्धभूमि बनाउन खोजिरहेको भन्दै रुस र युक्रेन बीचको युद्ध भड्काउने काम संरा अमेरिका तथा पश्चिमा पुँजीवादी देशहरुले गरिरहेको बताए । केन्द्रीय सदस्य गोसाईले युद्धलाई अझ लम्ब्याउनकै निम्ति युक्रेनलाई हतियार सहयोग गर्ने संरा अमेरिकाले रुसलाई चीनले हतियार बेच्न खोजेको भन्नु अनैतिक भएको जनाए । उनले रुसलाई समाप्त पारेर चीनमाथि हान्ने साम्राज्यवादी युद्धविरुद्ध सारा नेपाली एक हुनुपर्ने तर्क राखे । उनले भने, ‘नत्र एउटालाई खाने बाघले अर्कोलाई बाँकी राख्दैन ।’

केन्द्रीय सदस्य गोसाईले नेमकिपाले समाजवादी समाज स्थापना गर्न गरिबका छोराछोरीलाई संगठित गर्न खोजेको भन्दै उत्पादनका साधन सामाजिकीकरण नभएसम्म देशको मूल समस्या समाधान नहुने भनाइ राख्ए । उनले नेक्राविसंघले व्यक्तित्व विकासमा समान अवसरको नारा लगाउँदै आएको भन्दै यो नारा लागू गर्न अर्को आन्दोलन मागेको विचार व्यक्त गरे ।

कार्यक्रममा नेक्राविसंघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले शिक्षामा लागू नवउदारवादी नीतिको कारण गरिबका छोराछोरीले शिक्षाबाट वञ्चित हुनु परेको बताए । उनले कर्णालीका विद्यार्थीले सधैँ पाठ्यपुस्तक विनै पढ्नुपर्ने परिस्थिति थियो तर यसपालि देशभर पाठ्यपुस्तक अभाव हुने सम्भावन भएको भन्दै सरकार कर्तव्यच्युत भएको बताए । यस्तै नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले पुँजीवादी व्यवस्थाले मजदुर र किसानलाई बाँच्न नदिएको भनाइ राख्ए । नेक्राविसंघ, सुर्खेतका संयोजक राजन विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रायुसंघका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, नेक्राकिसंघका केन्द्रीय सदस्य प्रेमकुमार थापा, नेक्रामसंघका जिल्ला सदस्य विजुकला राना, नेक्राविसंघका केन्द्रीय सदस्य रवीन्द्र भण्डारी, नेक्राविसंघका तुल्सी सिजापतिलगायतले मन्तब्य राख्एका थिए ।

सम्मेलनको बन्दसत्रबाट राजन विकको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । बन्दसत्रमा नेक्राविसंघका पूर्व अध्यक्ष गोसाईले नेक्राविसंघले समाजवादी गणतन्त्रको नारा पहिलोपटक लगाएर दोस्रो जनआन्दोलनलाई नयाँ उचाइ प्रदान गरेको बताए । नेक्राविसंघले राजनीतिक गतिविधिसहितको हडतालको नीति लिएको भन्दै बन्द तथा हडताललाई निरपेक्ष रुपमा समर्थन गर्न नसकिने यसको नीतिले शैक्षिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी दिए ।

 

 

Translate »