कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला


फागुन ११, सुर्खेत । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । बिहीबार बिहान ३ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

दार्चुलाको अपी नगरपालिका–६ घर भइ प्रहरीचौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत २६ वर्षीय कविन्द्र विक दायाँ कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । कन्चटमा लागेको गोली उनी आफैंले बोकेको एसएलआरको भएको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विक बिहान १ बजेदेखि ३ बजेसम्मको समयमा ४ नम्बर प्रहरी पोष्टको ड्युटीमा खटिएका थिए ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमान्डमा ८ जनाको प्रहरी टोली खटिएको छ ।

