लेकबेशी नगरपालिकाले डाक्टर पढाउँदै

स्काई न्यूज /फागुन ११, सुर्खेत । लेकबेशी नगरपालिकाले आफ्नै लगानीमा डाक्टर पढाउन शुरु गरेको छ । नगरक्षेत्रमा एक जनापनि डाक्टर नभएपछि पालिकाले आफ्नै लगानीमा प्रति वर्ष एक जनालाई डाक्टर पढाउन कार्यक्रम शुरु गरेको हो । स्वास्थ्यकर्मीको अभावलाई परिपूर्ति गर्न निर्वाचनताका जनतासँग गरेको प्रतिवद्धता मध्ये नगरपालिकाकै लगानीमा चालु आर्थिक वर्षदेखि डाक्टर पढाउन शुरु गरिएको नगर प्रमुख उमेशकुमार पौडेलले जानकारी दिए ।

उनले यसै आर्थिक वर्षदेखि शुरु गरिएको ‘डाक्टर पढाउने कार्यक्रम’ अन्तर्गत छनौटमा परेका लेकबेशी नगरपालिका–१, निवासी नितेस पौडललाई स्कूल अफ मेडिकल साइन्स धुलिखेलमा अध्ययन गर्न पठाईएको बताए । उनका अनुसार पहिलो किस्ता वापत चालु आर्थिक वर्षमा १३ लाख रुपैयाँ दिएर अध्ययनमा गर्न लगाईएको छ । ‘पूर्ण छात्रबृत्तिमा पाँच वर्षसम्म (एमवीवीएस) अध्ययन पुरा नगरुन्जेल नगरपालिकाले सम्पूर्ण खर्च व्यर्होने छ,’ उनले भने, ‘एमवीवीएस अध्ययन पुरा गरिसकेपछि पूर्ण छात्रबृत्तिमा त्यसरी अध्ययन गरेका डाक्टरले पाँच वर्षसम्म नगरपालिका क्षेत्रमा अनिवार्य सेवा दिनु पर्नेछ ।’

नगरपालिकाले नै निशुल्क ‘डाक्टर पढाउने कार्यक्रम’ कार्यक्रम शुरु गरेपछि युवाहरुमा उत्साह थपिएको उनको भनाइ छ । नगरपालिकाले ‘डाक्टर पढाउने कार्यक्रम’ लाई ऐन नै बनाएर कार्यान्वयन गरेपछि नगरका भित्रका प्रति वर्ष एक जना विद्यार्थीले निःशुल्क डाक्टर अध्ययन गर्न पाउने नगरपालिकाका सूचना अधिकारी दिपकध्वज हमालले बताए । उनले वर्तमानमा शिक्षा क्षेत्रमा लगानी गरिएको भएपनि भविष्यमा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता हुने विश्वास व्यक्त गरे ।

Translate »