दशरथपुरमा शनिबारदेखि निःशुल्क विशेषज्ञ महिला स्वास्थ्य शिविर शुरु हुँदै


स्काई न्यूज /फागुन १२, सुर्खेत । सशस्त्र प्रहरी बल नेपालले पूर्वी सुर्खेतको लेकबेशी नगरपालिका स्थित दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क विशेषज्ञ महिला स्वास्थ्य शिविर आयोजना गरेको छ । सशस्त्रले लेकबेशी नगरपालिका र भेरीगंगा नगरपालिकाका महिलाहरुका लागि विशेषज्ञ महिला चिकित्सकबाट शनिबारदेखि ४ दिने निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।
शिविरमा महिला स्वास्थ्य जनचेतनामुलक क्यान्सर स्क्रिनिङ्ग गरिने कार्यक्रम समेत रहेको दशरथपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख खगेन्द्रबहादुर विरकट्टाले जानकारी दिए । उनले फागुन १३ देखि १६ गतेसम्म सञ्चालन हुने विशेषज्ञ महिला स्वास्थ्य शिविरमा शनिबार लेकबेशी नगरपालिकाका–१,२ र ३ नम्वर वडाका सबै महिलाहरुका निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचारको सुनौलो अवसर रहेको बताए ।

उनका अनुसार फागुन १४ गते लेकबेशी नगरपालिकाका–४,५ र ६ नम्वर वडा, फागुन १५ गते ७, ८ र ९ नम्वर वडा एवं फागुन १६ गते लेकबेशी नगरपालिका–१० नम्वर वडासँगै भेरीगंगा नगरपालिकाका–११ र १३ नम्वर वडाका महिलाहरुका लागि विशेषज्ञ महिला स्वास्थ्य शिविर आयोजना गरिएको छ । लेकबेशी नगरपालिकाका नगर प्रमुख उमेशकुमार पौडेलले सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य र शिक्षाको क्षेत्रमा पछाडी परेको लेकबेशीमा निःशुल्क विशेषज्ञ महिला स्वास्थ्य शिविर आयोजना गरिदिएर उल्लेखनीय कार्य गरेको बताए । उनले निःशुल्क विशेषज्ञ महिला स्वास्थ्य शिविरबाट मौकाको फाइदा उठाउन सम्पूर्ण लेकबेशीका महिलालाई आग्रह गरे । शिविर नगरक्षेत्रका गरिव, असाहय र विपन्नका लागि वरदान नै सावित हुने उनको विश्वास छ ।


