एमालेबाट राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता
प्रस्तावक र समर्थकमा एमालेकै ५–५ जना
फागुन १३, काठमाडौं । नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका थिए ।
उनको प्रस्तावकमा अध्यक्ष ओलीसहित नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन् । यसैगरी समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन् ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । उक्त निर्वाचनका लागि आज बिहान १० बजेबाट मनोनयन दर्ता शुरु भएको हो । मनोनयन दर्ताका लागि अपरान्ह ३ बजेसम्मको समय तोकिएको छ । रासस