राष्ट्रपतिमा कांग्रेसका पौडेलको उम्मेदवारी दर्ता

प्रस्तावक र समर्थकमा आठै दलका नेता

फागुन १३, काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत विभिन्न पार्टीका शीर्ष नेताहरू नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका थिए ।

उनको प्रस्तावक र समर्थकमा नयाँ बनेको आठ दलीय गठबन्धनकै नेताहरू छन् । उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान छन् ।

यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

राष्ट्रपतिका लागि नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुभासचत्द्र नेम्वाङले पनि उम्मेदवारी दिएका छन् । राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मनोनयनको समय तोकिएको छ । रासस

Translate »