राष्ट्रपति कसलाई बनाउने भन्नेबारे पार्टीभित्र छलफल गर्न बाँकी छ : वरिष्ठ नेता खनाल

स्काई न्यूज / फागुन १४, सुर्खेत । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले बनेको गठबन्धनबाट गुणात्मक परिवर्तनको अपेक्षा गर्न नसकिने बताएका छन् ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै वरिष्ठ नेता खनालले परिवर्तनका लागि वामपन्थीहरू एक ठाउँमा आउने सम्भावना उत्तिकै रहेको भन्दै तत्काल प्रगतिशील साझा कार्यक्रम बनाएर वामपन्थीहरू बीच एकता हुन आवश्यक रहेको बताए।

उनले कुन गठबन्धन कति बेला, कसरी बनेभन्दा पनि कसले गुणात्मक परिवर्तन ल्याउन सक्छ भन्ने कुरा महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै नेपालका वामपन्थीहरू एक ठाउँमा आउन सके परिवर्तन सम्भव रहेको बताए ।

नेकपा एकीकृत समाजवादीको तत्काल कुनै पार्टीसँग एकता हुने सम्भावना नरहेको स्पष्ट पार्दै वरिष्ठ नेता खनालले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा एमालेले पठाएको पत्रबारे पार्टीमा छलफल गरेर निर्णय गरिने जानकारी दिए ।

उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे पार्टीभित्र छलफल बाँकी रहेकाले अहिले नै नेकपा एसले कसलाई मत दिन्छ भन्न नसकिने स्पष्ट पारे।

Translate »