प्रधानमन्त्री दाहाल प्रचण्ड शुक्रबार कतार जादै


फागुन १४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरू (एलडिसिज) को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने भएका छन् ।
परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको प्रतिनिधि मण्डल कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू (एलडिसिज) को सम्मेलनमा जान लागेको जानकारी दिएको हो ।
एलडीसीको दोहामा हुने पाँचौँ सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल २२ गते नेपाल फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिए। एलडीसीको सम्मेलनमा परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले पनि भाग लिने भएकी छन् ।

परराष्ट्रमन्त्री डा.पौड्याल आजै मानव अधिकार परिषद्को ५० औँ सत्रमा भाग लिन जेनेभा जाँदै छन् ।
परराष्ट्रमन्त्री डा.पौड्यालले जेनेभामा हुने मानव अधिकार परिषद्को बैठकमा नेपालले मानवअधिकारका क्षेत्रमा गरेको प्रगति र राम्रा अभ्यासलाई प्रस्तुत गर्ने जानकारी दिए ।
उनले जेनेभा बैठकमा सहभागी हुँदा द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई सुदृढ बनाउने मौका रुपमा उपयोग गर्ने जानकारी गराए ।
परराष्ट्रमन्त्री डा.पौड्याल जेनेभामा मानव अधिकार परिषद्को बैठकमा सहभागी भएर कतारको दोहामा हुने एलडीसीको सम्मेलनमा भाग लिन जाने कार्यक्रम रहेको छ ।

