किशोरीलाई बन्धक बनाएर यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

![]()
फागुन १४, काठमाडौं । किशोरीहरूलाई बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको फुजिन सी मेन घर भई हाल ललितपुर महानगरपालिका–२२ मा बस्दै आएका ४९ वर्षीय याङ लिमिङ छन् । उनले नेपाली किशोरीहरुलाई प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट बोलाई ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टेस्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहले बताए ।

प्रहरीले तीन किशोरीलाई उद्दार गरेको जनाएको छ । कास्की महानगरपालिका–१० रामबजारका १७ वर्षीया दुई र झापा मेचीनगर नगरपालिका–११ का १३ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको समेत प्रहरीको भनाइ छ ।
ती चिनियाँ नागरिक याङ लि मिङलाई शनिबार साँझ ललितपुर बुङमतीबाट नियन्त्रणमा लिई अनुसन्धान थालेको एसएसपी शाहले जानकारी दिए । ती चिनियाँ नागरिक कुन प्रयोजनका लागि कहिले नेपाल आए, भाडाको घरमा के गर्छन् भन्ने यकिन नभएको र उनीबाट कति किशोरी पीडित छन् भन्ने समेत नखुलेको प्रहरीले जनाएको छ । इकान्तिपुर

