जाजरकोट अस्पतालमा औषधि अभाव

फागुन १५, जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा औषधिको अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि अस्पतालमा औषधिको अभाव भएको हो । अस्पतालमा औषधि नहुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधि नहुँदा बाहिरका पसलमा गएर औषधि खरिद गर्न बाध्य हुनुपरेको बिरामीले बताएका छन् ।

टेन्डर प्रक्रिया पुरा गरी वर्ष भरिलाई पुग्ने औषधि खरिद गर्नुपर्ने प्रक्रिया पुरा नगरेका कारण पनि पटक पटक अस्पतालमा औषधिको अभाव हुने गरेको फार्मेसी विभागले बताएको छ ।

नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधि मात्र छन् ।

बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । ‘उपचारमा केही सहज होला भनेर बिमा गरियो तर अस्पतालमा औषधि पाइएन’ मेडिकलमा गएर महँगो औषधि किन्नुपरेको भेरी नगरपालिका ४ की २९ वर्षीया सरस्वती विकले बताइन् ।

प्रशासनलाई महिना दिन अघि नै औषधि सकिएको जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको फार्मेसी विभागले जनाएको छ । सामान्यदेखि जटिल रोगका लागि चाहिने ५० प्रकारका औषधि हाल जिल्ला अस्पतालमा छैनन् । (रेडियो नेपाल)

Translate »