सिम्ता गाउँपालिकाद्वारा गर्भवती महिलाहरुका निःशुल्क भिडियो एक्सरे सेवा शुरु

स्काई न्यूज /फागनु १५, सुर्खेत ।  पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाका दुर्गम तथा ग्रामीण वस्तीका गर्भवती महिलाहरुका लागि निःशुल्क अल्ट्रासाउन्ड (भिडियो एक्सरे) मेसिनबाट जाँच्न सुरु गरिएको छ । नेपाल सरकारको सहयोगमा ‘दुर्गम तथा ग्रामीण क्षेत्रका गर्भवती महिलाहरुको अल्ट्रासाउन्डबाट जाँच्ने कार्यक्रम’ अन्तर्गत सोमबारदेखि राकमबाट गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, ६ नम्वर वडाध्यक्ष गुलाबसिंह ठकुरी, सामाजिक विकास शाखाका प्रमुख बिरेन्द्र पुनलगायतको सहभागितामा जाँच्न शुरु गरिएको हो ।

दुर्गमको गाउँपालिका भनेर चिनिने सिम्ता गाउँपालिकाको राकमका गरिव तथा विपन्न गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा शुरु गरिएपछि खुशीयाली छाएको छ । कार्यक्रम उद्घाटनकै दिन ३६ जना गर्भवती महिलाले सेवा लिएको तालिम प्राप्त अनमी पुष्पा जिसीले बताईन् । उनले भौगोलिक रुपले विकटमा रहेका गाउँ वस्तीहरुसम्मका गर्भवती महिलाहरुका लागि पोटेबल भिडियो एक्सरे मेसिनबाट गाउँपालिकाका नौ वटै वडाका स्वास्थ्य केन्द्रहरुबाट सेवा लिन सकिने जनाईन् । २१ दिनसम्म अल्ट्रासाउन्ड (भिडियो एक्सरे) मेसिन सञ्चालन सम्बन्धि तालिम लिएर फर्किएपछि फेरि गाउँमा नै आएर सेवा गर्न पाएकोमा खुसी लागेको उनको भनाइ थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले नेपाल सरकारबाट २२ लाख मूल्यका पोटेबल भिडियो एक्सरे मेसिनसहित अन्य आवश्यक सामाग्रीहरु प्राप्त भएको बताए । उनले सामान्य चेकजाँचका लागि मेहलकुना र सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँपालिकाले यसअघि आफ्नै लगानीमा समेत एउटा भिडियो एक्सरे मेसिन सञ्चालनमा ल्याएको जनाए । उनका अनुसार अब दुई वटा मेसिनबाट राकम र बजेडिचौर केन्द्रविन्दु बनाएर काफलकोट, आग्रीगाउँ र घोरेटासम्मका गरिव तथा विपन्न गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा सहज हुनेछ ।

अब गाउँपालिकाका प्रत्येक वडाको स्वास्थ्य संस्थामा गएर प्रत्येक महिनामा नियमित शिविर सञ्चालन गरिने उनको भनाइ छ । गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा शुरु भएसँगै गर्भवती महिलाहरुका लागि अत्यन्तै प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष ऐनबहादुर चन्दले बताए । उनले भिडियो एक्सरे सेवामार्फत आमा र बच्चाको मृत्युदरमा समेत कमी आउने विश्वास व्यक्त गरे । धेरै खर्च गरेर नेपालगञ्ज र सदरमुकाम गएर भिडियो एक्सरे गरेर बच्चाको अवस्थाबारे जानकारी लिनुपर्ने बाध्यता हटेको उनको भनाइ छ । यो सेवामार्फत आमा र बच्चाको अवस्थाबारे भिडियो एक्सरेबाट पत्ता लगाउन सजिलो हुनेछ ।

Translate »