प्रदेश १ को नाम ‘कोशी’ प्रदेश

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

फागुन १८, विराटनगर। प्रदेश–१ को नाम‘कोशी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले स्वीकृत भएको छ । योसँगै सात ओटै प्रदेशको नामाकरण टुंगो लागेको छ । यस अघि ६ ओटा प्रदेशले संघीयता कार्यान्वयन भएको पहिलो ५ वर्ष भित्रै प्रदेशको नाम टुंगो लगाएका थिए ।

‘कोशी’ नामाकरणका लागि संसद सचिवालयमा एमाले र कांग्रेसले प्रस्ताव दर्ता गराएका थिए । कोशी प्रदेश नाम राख्ने या नराख्ने भन्ने बिषय छलफलका लागि संसदमा प्रवेश पाएपछि त्यो प्रस्ताव बहुमतले पारित भएपछि नाम माथि प्रदेश सभामा छलफल शुरू भएको थियो । त्यस्तै नेकपा एस र जसपाले संयुक्त रुपमा दर्ता गराएको ‘किरात–लिम्बुवान–सगरमाथा’ नाम भने सभामा छलफलका लागि अस्वीकृत भएको थियो ।

प्रदेश सभामा प्रदेशको नाममाथिको छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत भएको थियो । जसको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको छ । ६ जना सांसद अनुपस्थित भएका थिए । दुई तिहाइ बहुमत सहित उक्त नाम संसदबाट स्वीकृत भएको हो । एमाले, कांग्रेस र माओवादीले प्रदेशको नाम ‘कोशी’ मा मतदान गरेका छन् ।

६ ओटा प्रदेशको नामाकरण भइसक्दा पनि प्रदेश १ को नामाकरण हुन नसकेको ‘अपजस’ भोग्दै आएका कांग्रेस र एमालेले संयुक्त रुपमा संसद सचिवालयमा प्रदेशको नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता गराएका थिए । कोशी प्रदेश हुनु पर्ने प्रस्तावको प्रस्तावक एमालेका रामबहादुर मगर र समर्थकमा काँग्रेसका भूमि प्रसाद राजवंशी रहेका थिए ।

‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्नै दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दू धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, मिथिला सभ्यता, लिम्बुवान संस्कृति, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै ऐतिहासिक, धार्मिक तथा जातजाती, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोशी नदी प्रवाहको क्षेत्र भित्रै सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपर्युक्त ठानिएको छ,’ प्रस्तावमा भनिएको थियो ।

प्रदेशको नामाकरणको छलफल प्रदेश सभामा चलिरहँदा बाहिर हुन सक्ने अवाञ्छित गतिविधि रोक्न सुरक्षा मजबुति बढाइएको थियो । पहिचान पक्षधरले सदन बाहिर नाराबाजी गर्दै किरात, लिम्बुवान लगायतको पहिचान झल्कने प्रदेशको नाम हुनु पर्ने माग गरिरहेका छन । जिल्ला प्रशासन कार्यालयले समेत सूचना जारी गर्दै विरोध प्रर्दशन हुन सक्ने संभावित स्थानहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । अहिलेसम्म अप्रिय घटना भने नभएको प्रहरी प्रशासनले जनाएको छ ।

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशसभाको बुधबारको बैठकले प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको उपलक्ष्यमा बिहीबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्ले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश नामकरणका लागि बुधबार भएको मतविभाजनमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना सांसदले मतदान गरेका थिए । ६ जना अनुपस्थित रहेका थिए ।

 

Translate »