राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समीकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाकी प्रदेश सांसद सन्तोषी शाहीले आज समर्थन फिर्ताको पत्र बुझाएकी छन् ।

राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षा अनुसार काम गर्न नसक्ने र पार्टी केन्द्रको निर्णयलाई स्वीकार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको शाहीको भनाइ छ ।

कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

यद्यपि, शर्मा अल्पमतमा भने परेका छैनन् । हाल शर्मालाई नेकपा एमाले, एकीकृत समाजवादी र एक स्वतन्त्रको समर्थन रहेको छ ।

केन्द्र सरकारबाट बाहिरिएको एमालेले अझै पनि प्रदेश सरकारका बारेमा कुनै निर्णय भने लिइसकेको छैन ।

Translate »