कर्णालीमा मतपत्र समयमै पुग्छ ‘पाठ्यपुस्तक’ कहिले पुग्दैन
फागुन १९, जुम्ला । तातोपानी गाउँपालिका–२ की अनिता परियार आगामी चैत १७ गते एसइई परीक्षा दिँदै छिन् । परीक्षा आउन एक महिना मात्र बाँकी रहँदा उनको हातमा सबै पाठ्यपुस्तक छैनन् । गत मंसिरमा अनिताले पाठ्यपुस्तक बिनाकै पढाइले वार्षिक परीक्षा दिएकी थिइन् । आधारभूतदेखि निमावि तहको अध्यापनको ९ वर्षमा पाठ्यपुस्तककै अभाव झेल्दै आएकी हुन् ।
त्यस्तै, पातारासीकी यशोदा बुढाले पनि गत मंसिरमा उपलब्ध किताबको पुरा पाठ्यक्रम नपढेर तथा अधिकांश पाठ्यपुस्तक नै नपाएर जिल्ला स्तरीय परीक्षा दिए । हचुवाका भरमा दिएको परीक्षाले अपेक्षित नतिजा आएन । समयमै पुस्तक नआउँदा सोचे जस्तो नतिजा नआएको र त्यसको प्रभाव उच्च शिक्षामा परेको उनको गुनासो छ ।
अनिता र यशोदा उदाहरण मात्र हुन् जुम्लाका हजारौँ विद्यार्थी वर्षेनि पाठ्यपुस्तक र पुरा कोर्ष पुरा नभई परीक्षामा सामेल हुन बाध्य छन् । जुम्ला सहित कर्णालीका मुगु,डोल्पा,कालिकोट,हुम्लामा शैक्षिक शत्र सुरु भएको ७र९ महिना बित्दा पनि सबै पाठ्यपुस्तक पुग्दैन ।
कर्णालीका हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुन्छ । भने अन्य पहाडी जिल्लामा वैशाखदेखि सुरु हुन्छ । हिमाली जिल्लामा प्रायः सधैंजसो पाठ्यपुस्तक समयमै कहिले पुग्दैन । यसको प्रत्यक्ष प्रभाव शैक्षिक गुणस्तरमा परेको छ ।
गत वैशाख ३० गते स्थानीय तहको र मङ्सिर ४ गते संघ र प्रदेशको चुनाव सम्पन्न भयो । चुनाव तोकेको दिन १५ दिन नबित्दै दुर्गम कर्णालीका पाँच जिल्लादेखि सबै जिल्लामा मतपत्र समयमै पुगे । त्यसबेला वर्षभरी पाठ्यपुस्तक नपुग्ने कर्णालीमा मतपत्र कति छिटो पुग्यो भन्दै आलोचना समेत भयो ।
मतपत्र समयमै पुग्ने कर्णालीमा पाठ्यपुस्तक कहिले नपुग्ने कर्णालीको वर्षौँदेखिको रोग हो । त्यसतर्फ नत राज्यको ध्यान पुगेको छ । नत पार्टीका भातृ तथा विद्यार्थी संघ सङ्गठनले ठोस कदम चाल्न सकेका छन् ।
जुम्लामा पाठ्यपुस्तक ल्याउँदै आएका जीपि स्टेशनरीका सञ्चालक गणेश रोकाया भन्छन्, ‘सरकारले वैशाखबाट नयाँ शैक्षिक शत्र सुरु गर्ने भनेपछि कर्णालीमा फागुनबाट सुरु भइसक्यो । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले किताब पठाउने सुरसार गरेको छैन । जनक शिक्षा सामाग्रीले सरकारको नीति अनुसार किताब बेच्ने र हामीले ल्याउने हो । शैक्षिक सत्र शुरु गर्ने सरकारको दोधारे नीतिले पनि कर्णालीमा समयमै पुस्तक आउँदैन ।’
जुम्लामा शैक्षिक शत्र सुरु भइसकेकोले पाठ्यपुस्तक पठाउने वा नपाउने विषयमा जनक शिक्षा सामाग्रीसँग बुधबार छलफल गरिने उनको भनाई छ । जुम्लामा शैक्षिक शत्र सुरु भएकोले तत्काल पाठ्यपुस्तक पठाउन आग्रह गर्ने रोकायाको जोड छ ।
शिक्षा मन्त्रालयले वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु गर्न ७७ वटै जिल्लामा परिपत्र गरेको छ । तर कर्णालीका हिमाली जिल्लामा फागुन १ गतेबाटै विद्यालय खुलिसकेका छन् । यी दुई बिना पाठ्यपुस्तक विद्यार्थी स्कुल जान बाध्य हुने सञ्चालक रोकायाले बताउनुभयो । कि सरकारले कर्णालीमा किताब पठाउन पहल गर्नुपर्ने कि कर्णालीका विद्यालय दुई महिना बिदा गर्नुपर्ने उहाँको सुझाव छ ।
कर्णालीमा शैक्षिक शत्र सुरु हुने बित्तिकै पाठ्यपुस्तक कहिले विद्यार्थीको हातमा नपर्ने र पछि पुस्तक नै नआउने समस्या छ । वर्तमान प्रचण्ड सरकारको साझा न्यूनतम कार्यक्रममै नयाँ शैक्षिक शत्र सुरु भएलगत्तै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउने उल्लेख भएपनि कर्णालीमा विगतका वर्षझैँ यस वर्ष पनि पाठ्यपुस्तक समयमै नआउने निश्चित भएको छ ।
एसइईमा दुई हजार ८ सय विद्यार्थी सहभागी हुँदै
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जुम्लाका दुई हजार ८ सय बढी विद्यार्थी सहभागी हुने भएका छन् । जुम्लाका आठ स्थानीयतहका २ हजार ८ सय ७७ जना विद्यार्थी आगामी चैत १७ गतेबाट हुने एसइईमा सहभागी हुने भएका हुन् ।
परीक्षाका लागि आवश्यक हाजिरी पुराएका नियमित तर्फ २ हजार ६ सय ९९, ग्रेड वृद्धिमा ४९ र प्राविधिक धारका १ सय २९ जना गरी २८ सय बढी विद्यार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए ।
उनका अनुसार परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत दिन विद्यार्थी अनिवार्य हाजिरी हुनुपर्ने प्रावधान छ । शिक्षा विकास तथा समन्वय एकाइको तथ्यांक अनुसार जुम्लामा मावि स्तरका ५० वटा सामुदायिक रहेका छन् । परीक्षा सञ्चालनका लागि गत वर्ष जुम्लामा १६ वटा परीक्षा केन्द्र तोकिएको छ । जुम्ला सहित कर्णालीका विद्यार्थी बिना पाठ्य पुस्तकबिनै ट्युसन कक्षा लिएका भरमा परीक्षा दिन बाध्य छन् । (रेडियो नेपाल)