सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने तयारीमा

प्रदेशसभा बैठक आव्हान

फागुन २१, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । संविधानको धारा १६८ ९३० बमोजिम माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले फागुन २६ गते भित्र विश्वासको मत लिई सक्नु पर्ने हुन्छ ।

मुख्यमन्त्री शाहले आज दिउसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिनु हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन कम्तीमा २७ जनाको समर्थन आवश्यक पर्छ । यहाँ नेपाली काँग्रेस १९, नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७, नेकपा एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेका छन् । काँग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य गरि २४ जनाको समर्थन प्राप्त मुख्यमन्त्री शाहलाई माओवादी केन्द्र र नागरिक उन्मुक्तिले विश्वासको मत दिने, नदिनेबारे अझै निर्णय गरेको छैन ।

सरकारको नेतृत्व आलोपालो लगायत मन्त्रालय बाँडफाँडमा विश्वासको मत दिनु अघि सहमति गर्नु पर्ने पक्षमा आफूहरू रहेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टको भनाई छ । यस्तै नागरिक उन्मुक्तिले समेत सत्ता बाँडफाँडमा लिखित प्रतिबद्धता माग गरेको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहले शीर्ष तहमा छलफल भइरहेको जानकारी दिदै सरकारले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताए ।

Translate »