जाजरकोटमा आत्महत्याका घटना बढ्दै
फागुन २१, जाजरकोट । जाजरकोटमा आत्महत्याका घटना बढ्न थालेपछि नेपाल प्रहरीले त्यसको न्यूनीकरण गर्न सक्रियता बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाका सात वटा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरेर आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो ।
जाजरकोटमा बर्षेनी आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार पछिल्लो ६ बर्ष अन्तर्गत आर्थिक वर्ष २०७४/७५ मा ५ जनाले आत्महत्या गरेका थिए । जसमा १ जना पुरुष र ४ जना महिलाले आत्महत्या गरेका थिए । आर्थिक २०७५/७६ मा ७ जनाले आत्महत्या गरेका छन् । जसमा २ महिला ४ पुरुष र १ जना बालक रहेका छन् ।
त्यसैगरी आव २०७६/७७ मा ५ जनाले आत्महत्या गरेका छन् । जसमा १ पुरुष ३ महिला र १ बालक रहेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा २८ जनाले आत्महत्या गरेका छन् । जसमा १२ जना पुरुष ७ महिला २ बालक ७ बालिका रहेका छन् ।
गत आव २०७८/७९ मा १७ जनाले आत्महत्या गरेका छन् । जसमा ९ पुरुष ५ महिला १ बालक र २ बालिका रहेका छन् ।
त्यसैगरी, आ.व २०७९/८० को हाल सम्म ९ जनाले आत्महत्या गरेका छन् । जसमा ५ महिला ३ पुरुष र १ बालक गरि पछिल्लो ६ वर्षको अन्तरालमा ७२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक नवीन चुँडालीले जानकारी दिए ।
सात महिनाको अन्तरालमा ९ जनाले आत्महत्या गर्नु गम्भीर विषय भएको बताउँदै उनले भने, ‘आत्महत्याको घटना रोक्न समाजमा सचेतनामुलक कार्यक्रम जरुरी रहेकोले हामीले जिल्लाका सात वटै स्थानीय तहमा सचेतनामुलक कार्यक्रमहरू अभियानका रुपमा सञ्चालन गरिरहेका छौँ।’ कम उमेरमै विवाह गर्ने, अशिक्षा र गरिबी आत्महत्याको प्रमुख कारण बनेको उनले बताए।
समाजमा जनचेतनाको खाँचो रहेको उल्लेख गर्दै उनले स्थानीय तहसँग समन्वय गरेर जिल्लाका सात वटै स्थानीय तहमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए । रेडियो नेपाल