रोजगारीलाई साझा अभियानकै रुपमा अघि बढाउन आवश्यक : प्रदेश प्रमुख परियार

स्काई न्यूज /फागुन २४, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले महान जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तीकरण क्षेत्रको प्राप्त उपलब्धी विश्व महिला आन्दोलनकै उपज भएको बताएका छन् ।

आज ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख परियारले लैङ्गिक समानताका क्षेत्रमा हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएका हुन् ।

उनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था, न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय समृद्धि हासिल गर्न महिलाको आर्थिक, सामाजिक, सांस्कृतिक तथा व्यवस्थापकीय रुपान्तरण आवश्यक रहेको भन्दै उनले सुरक्षा, सम्मान र रोजगारीलाई साझा अभियानकै रुपमा अघि बढाउन आवश्यक रहेको औल्याए ।

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास शुभकामना सन्देश मार्फत प्रदेश प्रमुख परियारले व्यक्त गरेका छन् ।

Translate »