सातै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ : प्रधानमन्त्री
फागुन २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिने घोषणा गरेका छन् । ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् । ‘सातवटै प्रदेशमा निस्सन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’प्रधानमन्त्री दाहालले भनेका छन् ।
प्रधानमन्त्री दाहालले प्रजनन् उमेर समूहका महिलाहरुमा देखिएको समस्या सम्बोधन गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिने बताए । ‘करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ,’ दाहालले भने ।
प्रधानमन्त्री दाहालले पछिल्लो संविधान जारी भएपछि राजनीतिकरुपमा समेत महिलाको अधिकार र प्रतिनिधित्व सुनिश्चित हुँदै गएको बताए । दाहालले राज्यका विभिन्न तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भइसकेको भन्दै सभामुख र उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष सहित स्थानीय तहका प्रमुख र उपप्रमुखमा समेत फरक–फरक लिङ्गको प्रतिनिधित्व हुने गरी संवैधानिक व्यवस्था हुनुलाई उपलब्धि मान्नुपर्ने बताए ।’ राज्यका सबै तहमा, राजनीतिक दलहरूलगायत समाजका अन्य तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुन पुगेको छ। राष्ट्रपति र उपराष्ट्रपतिमा फरकफरक लिंग वा समुदायको प्रतिनिधित्व हुनुपर्ने, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षसम्मका पदमा महिला अनिवार्य हुनुपर्ने उपलब्धि हामीले हासिल गरेका छौं । साथै संघीय र प्रादेशिक संसदमा ३० प्रतिशत महिला प्रतिनिधित्व, स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एक महिलासहित ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ,ु प्रधानमन्त्री दाहालले भनेका छन् ।