रुकुम पश्चिममा तीन वर्षपछि यातायात व्यवस्था कार्यालयबाट सेवा

फागुन २४, रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले कार्यालय स्थापना भएको तीन वर्षपछिबाट सेवा सुरु गरेको छ । कार्यालय स्थापना गरेको ३ वर्षसम्म पनि बजेट तथा कर्मचारीको व्यवस्था नहुँदा उद्घाटन गरिएको बोर्ड बाहेकको अन्य सेवा प्रवाह हुन सकेको थिए । कार्यालय स्थापना भएको लामो समयसम्म पनि सेवा सुचारु नभएपछि नागरिक स्तरबाट पनि आलोचना भएको छ ।

तीन वर्षपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कार्यालयको सेवा उद्घाटन गरे। रामप्रसाद शर्माको ब्लुबुक नवीकरण गरेसँगै सेवा सुचारु भएको हो । अहिले तत्कालका लागि कार्यालयबाट दर्ता, नामसारी, कर असुल, ब्लुबुक नवीकरण सेवा प्रवाह हुने कार्यालय प्रमुख आनन्द चपाइले जानकारी दिए । अहिले पनि कार्यालयमा प्राविधिक कर्मचारी छैनन् । प्राविधिक कर्मचारी आएमा सवारी सरुवा सहमति दर्ता, सवारी जाँच पास, रुट परमिट जारी, नवीकरण, अस्थायी रुट निर्धारण लगायतका सेवा प्रवाह हुने कार्यालय प्रमुख चपाइले बताए। उनका अनुसार लाइसेन्स लगायतका सेवा भने ट्रायल सेन्टर बनेपछि प्रवाह हुने छन् ।
ट्रायल सेन्टर बनेपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी, नवीकरण लगायतका सेवा सुचारु हुने छन् । त्यस्तै विभागबाट कोड प्राप्त भएमा लाइसेन्स नवीकरण पहिला सुरु हुनसक्ने कार्यालयले बताएको छ । चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको कार्यालयमा अहिले ७ जनाको दरबन्दी रहेको छ । तर अहिले कार्यालयमा अप्राविधिक ३ जना मात्र कर्मचारी रहेका छन् ।