‘सुशासनका लागि अनुगमनमा जोड’


स्काई न्यूज /फागुन २६, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आम नागरिकले प्रयोग गर्ने वस्तुहरु निर्दिष्ट मापदण्ड तथा गुणस्तर वमोजिम उचित मूल्यमा विक्री वितरण भए÷नभएको जाँच्न बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागेको छ । आज प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्तरीय अनुगमन तथा मूल्यांकन समितिले सार्वजनिक तथा निजी क्षेत्रबाट प्रवाह भईरहेका सेवा तथा वस्तुको गुणस्तर, प्रभावकारिता, पारदर्शीता, छिटो छरितो, कम खर्चिलो र सर्वसुलभ उपलब्ध नभ/नभएको बारेमा बुझ्न अनुगमनलाई प्रभावकारी बनाउन लागेको हो ।

बैठकमा सरोकारवालाले हाल मेडिकल क्षेत्रमा देखा परेको विकृति, यातायात क्षेत्रको विकृति र पानीजन्य वस्तुमा आफुखुशी मूल्य निर्धारण गरेर विक्री वितरण भईरहेको बारेमा प्रमुख जिल्ला अधिकारी सापकोटालाई अवगत गराएको थियो । प्रमुख जिल्ला अधिकारी सापकोटाले भने सुशासन तथा व्यवस्थापन तथा सञ्चालन निमावली २०७५ मा टेकेर समस्या देखिएका क्षेत्रमा नागरिकलाई तत्काल सुशासनको प्रत्याभूति हुने गरि सार्वजनिक तथा निजी क्षेत्रबाट भईरहेको सेवा तथा वितरण प्रक्रियालाई चुस्तदुरुस्त बनाउन सबै सरोकारवालाको ध्यानकर्षण गराए ।


उनले वस्तुको गुणस्तर कायमसँगै सेवालाई सर्वसुलभ, पारदर्शी, समावेशी र चुस्त प्रशासन बनाउन स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरेर तत्कालै देखिने गरि काम कार्वाही अगाडि बढ्नेमा विश्वस्त रहन आग्रह गरे । सुशासन स्थापनाका लागि स्थानीय तहको भूमिका उत्तिकै जवाफदेही रहेको भन्दै उनले आम नागरिकलाई अनुभूति हुने गरि वस्तु तथा सेवाको प्रवाहलाई प्रभावकारी बनाउन जनप्रतिनिधिको सक्रियता अति आवश्यक रहेको औल्याए । बैठकमा जनप्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिसँगै नागरिक समाजका अगुवा तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


