अछाममा निर्धारित भाडादर लागू नहुँदा यात्रुहरू मर्कामा


फागुन २७, अछाम । अछाम जिल्लाका ग्रामीण सडकदेखि कालोपत्रे सडक खण्डमा निर्धारित भाडादर लागू नहुँदा यात्रुहरू मर्कामा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय अछामले नयाँ भाडादर निर्धारण गरे पनि कार्यान्वयन नहुँदा यात्रुहरू मर्कामा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अछामले कच्ची सडक र कालोपत्रे सडकखण्डको फरक फरक भाडादर निर्धारण गरे पनि बस, जीप र अटो लगायतका व्यवसायीले मनोमानी भाडा असुल गर्ने गरिरहेको यात्रुको गुनासो छ ।
जिल्ला सदरमुकाम मङ्गलसेन तथा अन्य विभिन्न व्यापारिक केन्द्रदेखि बजार तथा ग्रामीण क्षेत्रमा चल्ने सडकमा फरक फरक भाडादर कायम गरिएको छ । व्यवसायीले मनलाग्दी भाडा असुल्ने गरेका सेवाग्राहीको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय अछामले पक्की सडकमा प्रतिकिलोमिटर ७ दशमलव ५ रुपैयाँ, यस्तै ग्राभेल सडकमा प्रतिकिलोमिटर ९ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँ लिन पाउने गरी भाडादर निर्धारण गरे पनि लागू नहुँदा यात्रु ठगिने गरेको नागरिक समाज अछामका अध्यक्ष शङ्कर रावलको भनाइ छ ।
चालक तथा व्यावसायीहरुले तोकिएको भन्दा दोब्बर देखि तेब्बर सम्म भाडा असुल्ने गरिरहेका छन् ।
ठुलासेनदेखि मङ्गलसेन सम्म पक्की सडक करिब ७ किलोमिटर सडकमा १ सय ५० रुपैयाँसम्म भाडा लिने गरिएको छ । नयाँ भाडादर अनुसार उक्त खण्डको भाडा करिब ५३ रुपैयाँ हुन्छ । यसबाट यात्रु ठगिन बाध्य भएका छन् ।
यस विषयमा जिल्ला प्रशासन, ट्राफिक कार्यालय लगायतका निकायहरूले अनुगमन लगायतको कार्यमा चाँसो नदिएको नागरिकको गुनासो छ । रेडियो नेपाल

