कालीकोटमा २० वर्षपछि विवाह गर्नेलाई १० हजार रुपैयाँ पुरस्कार

प्रतीकात्मक तस्वीर ।

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिका–७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । गाउँपालिकाको वडा नम्बर ७ ले चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू. १० हजार दिने निर्णय गरेको हो ।

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाअध्यक्ष प्रेमबहादुर शाहीले बताए ।

उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताए । वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाअध्यक्ष शाहीले जानकारी दिए । ‘कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ,’ उनले भने ।

उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताइन् । ‘यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो,’ उनले भनिन्, ‘अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौं ।’ रासस

Translate »