वीरेन्द्रनगरको ढुङ्गा–गिट्टी–बालुवा उत्खनन् नीति : मजदूरलाई काखा, ठेकेदारलाई पाखा
स्काई न्यूज /चैत ३, सुर्खेत । नदीजन्य पदार्थ ढुङ्गा–गिट्टी–बालुवा आपूर्तिका लागि ठेक्का दिने विषय नयाँ होइन । खासगरी २०६४ पछि चुरे क्षेत्र भएर बग्ने खोलानालाबाट व्यापक मात्रामा ढुङ्गा–गिट्टी–बालुवा उत्खनन् गरियो । सुर्खेतमा वातावरणीय प्रभाव मूल्याङ्कनविना मनलागी ढंगले उत्खनन गरिएको नदीजन्य वस्तुको मुख्य बजार बीरेन्द्रनगर थियो । प्रदेश राजधानी सुर्खेत बनेपछि भौतिक पूर्वाधारसँगै निजी घरहरु धमाधम बन्नेक्रम जारि रहँदा नदीजन्य वस्तुको ठूलो बजार अहिले पनि वीरेन्द्रनगर नै हो । तर जथाभावी उत्खननले वातावरणमा गम्भीर असर पु¥याएको र नगरपालिकालाई फाइदा नभएको भन्दै वीरेन्द्रनगर नगरपालिकाले मेसिन विनै नदीजन्य पदार्थ संकलन गरी विक्री वितरण तथा आन्तरिक निकासी गर्ने निर्णय ग¥यो ।
वीनपाले गत कार्तिक १ गते नदीजन्य पदार्थ संकलन गरी विक्री वितरण तथा आन्तरिक निकासी गर्ने कार्यका लागि शिलबन्दी दरभाउपत्र आव्हान गरेको थियो । विभिन्न ठेकेदार कम्पनीहरु वीच भएको प्रतिस्पर्धा मध्ये सबै भन्दा बढी अंक कबुल गर्ने रोयल विल्डर्सलाई ठेक्का प¥यो । रोयल विल्डर्सका सञ्चालक गोविन्दप्रताप मल्ल सिटी बसपार्क सञ्चालन ठेक्कामा विवादास्पद व्यक्ति थिए । पीआर कन्सटेक्सनका नाममा सिटी बसपार्क सञ्चालन ठेक्का सम्झौंता वमोजिमको रकम तिर्न नसकेपछि विवादास्पद बनेका मल्लकै अर्को कम्पनी रोयल विल्डर्सलाई नदीजन्य पदार्थ संकलनको ठेक्का दिन वीनपाले आनाकानी गर्दै कानूनी परामर्श लिन थाल्यो । त्यहीं वीचको मौका छोपेर मल्लले रोयल विल्डर्स कम्पनीलाई निराजन बुढाको नाममा नामसारी गरि गत पुस १९ गते मुल्य अभिबृद्धि करसहित १ करोड ५ लाख ७५ हजार ९ सय ८६ रुपैयाँमा नदीजन्य पदार्थ संकलन कार्यका लागि वीनपासँग ठेक्का सम्झौंता गरे ।
उता कानूनी परामर्शकर्ताहरुले अदालतबाट दोषी ठहर नभईसकेका मल्ललाई प्रतिस्पर्धामा जानबाट रोक्ने कुनै आधार नरहेको ठहर गरेपछि बाध्य भएर वीनपाले रोयल विल्डर्ससँग नदीजन्य पदार्थ संकलन कार्यका लागि ठेक्का सम्झौंता गरेको हो । ठेक्का सम्झौंता गरेको तीन महिना नवित्दै रोयल विल्डर्सले घुमाउँरो पारामा जिल्लाका अन्य पालिकाहरुमा ढुङ्गा–गिट्टी–बालुवा संकलन कार्य मेसिनबाट भईरहेकाले वीरेन्द्रनगरमा पनि प्रयोग गर्न दिन माग गरिरहेको बताईएको छ । वीनपाले यसअघि गरेको वातावरणीय प्रभाव मूल्यांकनमा ढुङ्गा–गिट्टी–बालुवा संकलन कार्यका लागि मेसिनको प्रयोग गर्न नपाईने स्पष्ट उल्लेख गरेको छ ।
ढुङ्गा–गिट्टी–बालुवा संकलन अनुगमन उपशाखा प्रमुख यामलाल गिरीका अनुसार रोयल विल्डर्सले हालसम्म १ हजार घन मिटर ढुङ्गा–गिट्टी–बालुवा संकलन गरिसकेको छ । सम्झौंता अनुसार जेठ मसान्तसम्म रोयल विल्डर्सले कुल १६ हजार घनमिटर ढुङ्गा–गिट्टी–बालुवा झुप्रा खोलाबाट संकलन गर्न पाउने गिरीले जनाए । झुप्रा खोलाबाट ढुङ्गा–गिट्टी–बालुवा ल्याउँदा सुब्बाकुना नाका मात्र रोयल विल्डर्सले प्रयोग गर्नु पर्नेमा प्रहरीको मिलेमतोमा धुलियाविट, करेखोला नाकाबाट समेत ल्याउने गरेको आरोप लागेको छ । त्यसका लागि रोयल विल्डर्सलाई चेतवनी दिएर अनुगमन कडा पारिएको गिरीले बताए ।
यसअघि वीनपाका उपमेयर नीलकण्ठ खनालले प्राकृतिक स्रोतसाधन माथि माफियाहरुको नजर बनिरहने हुँदा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र नदीजन्य पदार्थ संकलन कार्य हुनु पर्ने अडान लिँदै आएका थिए । उनको कठोर अडानपछि नदीजन्य पदार्थ संकलन कार्यका लागि डोजर अर्थात मेसिन लगाएर निकाल्न नपाउने प्रस्ताव माथि वीनपाको बहुमत सदस्यहरु सहमत भएका हुन् । गत आर्थिक वर्षमा मेसिन लगाएर नदीजन्य पदार्थ संकलन कार्यका लागि वीनपाले ३ करोड ७७ लाखमा ठेक्का लगाएको थियो । मेसिनको प्रयोगबाट दैनिक ढुङ्गा, गिट्टी बालुवा संकलन गरी ज्याला मजदुरी गरिखाने वर्ग प्रभावित बन्यो । अहिले पनि खोला तथा नदी किनारका बासिन्दाले ढुङ्गा, गिट्टी बालुवा संकलन गरि विक्रीबाट हुने आम्दानीलाई नै मुख्य पेशा बनाएका छन् । ढुङ्गा, गिट्टी बालुवा संकलन कार्यमा मानविय प्रयोग हुन छोडेपछि झुप्रा खोला, भुत खोला, करेखोलालगायत क्षेत्रका कतिपय परिवार वस्ती नै छोडेर विकल्पको खोजीमा पलायन हुन बाध्य भएका थिए ।
वीनपाले दैनिक ज्याला मजदुरी गरिखाने वर्गलाई केन्द्रित गर्दै चालु आर्थिक वर्षदेखि वीरेन्द्रनगर क्षेत्रमा मेसिन प्रयोगमा रोक लगाएर प्रत्यक्ष मानव श्रमद्वारा खोला तथा घाटहरुबाट ढुङ्गा, गिट्टी बालुवा संकलन गर्न पाईने नियम बनाएको हो । त्यसबाट अत्तालिएका ढुङ्गा, गिट्टी बालुवा संकलन ठेकेदारहरु विकल्पको खोजीमा नजिकका पालिकाहरुमा डेराडण्डा राखेर सक्रिय हुन थालेका छन् । त्यति मात्र कहाँ हो र ? हिजोआज वीरेन्द्रनगर नगरपालिकाका मेयर, उपमेयरदेखि कर्मचारीसम्म ढुङ्गा, गिट्टी बालुवा संकलन कार्यमा मेसिनको प्रयोग गर्न दिन दवाव बढेको प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी बताउँछन् । उनले विशेष परिस्थिति बाहेक पूर्व निर्धारित वातावरणीय प्रभाव मूल्यांकनले निर्दिष्ट गरेका शर्तहरु भन्दा बाहिर जाने सवाल नै नरहेको जिकिर गरे ।
‘प्राकृतिक स्रोतसाधनमाथि अनावश्यक छेडछाड गर्नु कदापी ठिक होइन् । हामीबाट गल्ती हुन गएमा त्यसको मूल्य आज न भोली चुकाउनु नै पर्छ,’ उनले भने, ‘अमुक व्यक्तिको हितलाई मात्र होइन, आवश्यकतामा आधारित दिगो विकासका लागि मापदण्डमा टेकेर नै ढुङ्गा, गिट्टी बालुवा संकलन, उत्खनन गरिने छ ।’ उनले कसैको दवाव, प्रभावमा नपरी नियम कानूनको अधिनमा रहेर प्रत्यक्ष जनसरोकारका कार्यमा वीनपा जुटिरहेको बताए । यता देशभर आर्थिक मन्दीका कारण सरकारले यसवर्ष विभिन्न शिर्षकमा रकम कटौती गरिरहेको छ । अहिले आन्तरिक खपतका लागि पनि ढुङ्गा–गिट्टीको अभाव नरहेको निर्माण व्यवसायी नै बताउँछन् । तर सार्वजनिक सम्पत्ति दोहन गरेर छोंटो समयमा ठूलो आर्थिक उपार्जन र त्यसबाट देखाउने रवाफले केही ठेकदारप्रति समाज नकारात्मक बनेको वीरेन्द्रनगरका स्थानीय धर्मराज शाहीको भनाइ छ ।